भैरहवा,असार २३ ।
जिल्ला बजार अनुगमन समिति, रुपन्देहीले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ ।
अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूची, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको, खुद्रा विक्रीको अनुमति लिएर थोक विक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमति नलिएको, लेबल नभएका खाद्यवस्तु विक्री गरेको पाइएपछि उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार ६ वटा पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको अनुगमन समितिका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
उनले कारोना महामारीले थलिएका व्यवसायीमाथि उठ्दै गरिरहेको अवस्था प्रशासन सधै व्यवसायीको हकहितमा काम गर्ने तर अवैध कारोवारलाई रोक्न भने लागिपर्ने बताए ।
अनुगमन समितिले शुक्रबार रुपन्देहीका सिद्धार्थनगर वडा नम्बर ६ र ४ का किराना, होलसेल तथा आलुप्याजका थोक तथा खुद्रा विक्रेता र चामल मिलमा अनुगमन गरेको थियो । उपभोक्ता हित संरक्षणविपरीत कारोबार गरेको पाइएपछि कानूनी दायरामा ल्याइएको समितिले जनाएको छ । यस्तै, अनुगमन समितिले केही पसलबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न सामाग्री जफत समेत गरेको छ । अनुगमन समितिले सिद्धार्थनगर–६, गल्लमण्डीको साहु जनरल स्टोर्सलाई ५० हजार जरिवाना तिराएको छ ।
उक्त स्टोर्सले खुद्रा विक्रेताको अनुमति लिएर थोकमा विक्री गरिरहेको, अवैध बाटोबाट भित्रिएका सामग्री विक्री गरेको, साइनबोर्ड तथा मूल्यसूची नराखेकाले जरिवाना गरिएको अर्यालले बताए ।
थोक विक्रेताले नगरपालिकाभित्र कम्तिमा ६० लाख पुँजीमा मात्रै कारोबार गर्न पाउँछन् । यस्तै, जरिवानामा पर्नेमा सिद्धार्थनगर–६ कै शिवान्स जनरल स्टोर्स, दुर्गा अम्बे स्टोर्स, विजय किराना पसल, तेजस–विनी स्टोर्स र देविका किराना स्टोर्स छन् । समितिले शिवान्सलाई १५ हजार र अन्यलाई जनही १० हजारका दरले जरिवाना गरेको छ । यी पसहरुबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न बरामद समेत गरिएको छ ।
यस्तै, समितिले सिद्धार्थनगर–६ को महाकालेश्वर इन्टरनेशनल तथा सिद्धार्थनगर–४ को शिवकुमार टेड्रिङ र शिवशक्ति राइस मिललाई भने पहिलोपटकलाई सचेत गराएको छ । जिल्ला अनुगमन समितिले अनुगमनलाई तीव्रता दिएकाले कसैले पनि अवैध कारोबार नगर्न÷नगराउन तथा कानूसम्बत कारोबार गर्न अपिल गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)