अनन्तप्रसाद घिमिरे /बुटवल,असार १७ ।
माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आज विभिन्न शैक्षिक निकायहरुमा घेराउ गरेको छ ।
पटक पटक ध्यानकर्षण गराउँदा पनि आफुहरुका मागहरुप्रति वेवास्ता गरेको भन्दै साविक उमावि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आज शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यानाकर्षण पत्र बुझाउँदै घेराउ गरेका छन् ।
हिस्टुनले विश्वविद्यालय तहबाट प्रमाणपत्र तह विस्थापित भइसकेको लामो समय बितिसक्दा पनि साबिक उच्च मावि तहमा अध्यापनरत शिक्षकहरूको व्यवस्थापनका विषयमा यस वर्षको बजेट पनि मौन रहेको र राज्य उदासीन बनेपछि उनीहरु असन्तुष्ट रहेका छन् ।
साढे ६ लाख विद्यार्थी अध्ययन गर्ने कक्षा ११ र १२ मा सरकारले तीस वर्षदेखि स्थायी दरबन्दीको एकजना पनि शिक्षक व्यवस्था नगरेको भन्दै हिस्टुनले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यसै अनुरुप कक्षा ११-१२ मा अध्यापनरत शिक्षकहरुले आज धर्ना तथा घेराउ कार्यक्रम गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)