बुटवल,असार ८ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो वार्षिकोत्सवमा रुपन्देही क्षेत्र नं. २ मा बिभिन्न कार्यक्रम भएको छ । पार्टी स्थापना भएको एक वर्ष पुरा भएर दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा रुपन्देही क्षेत्र नं. २ अन्तर्गत गर्ने बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा साताव्यापी रुपमा बिभिन्न कार्यक्रम गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेश लम्सालले जानकारी दिनुभयो ।
पार्टी स्थापना भएको अवसरमा रास्वपाले असार १ गतेदेखि सात गनेसम्म विभिन्न कार्यक्रम गरिएको थियो । गत असार ७ गते रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरिएको थियो । यसै अवसरमा पार्टीको क्षेत्रीय समितिले केन्द्रीय समितिको निर्णय र निर्देशन अनुसार साताव्यापी कार्यक्रम गरिएको उहाँले जानकारी गराउनुभयो ।
पार्टीको वार्षिकोत्सवको दिन असार ७ गते बिहिबार देशभरका ७७ वटै जिल्लामा साँझ ७ बजे घण्टी बजाईएको थियो । सोही अनुसार रुपन्देहीको बुटवलको ट्राफिकचोकमा साँझ ७ बजे घण्टी बजाईएको थियो । साता व्यापी कार्यक्रम अन्तरगत असार १ गते बुटवलको ट्राफिकचोकमा चिसो पानी वितरण, तिलोत्तमाको मणिग्राम स्थित मैनादेवी अनाथ आश्रममा खाद्यान्न वितरण र सबै पालिकामा सदस्यहरुको घर परिषरमा बृक्षरोपण गरिएको क्षेत्रीय अध्यक्ष लम्सालले बताउनुभयो ।
त्यस्तै असार २ गते बुटवल उपमहानगरपालिका वडा नं. ११, तिलोत्तमाको वडा नं. २ र ४ मा वार्ड भेला सहित समिति गठन, सैनामैना नगरपालिका वडा नं. १ देखि ५ सम्म सरसफाई, असार ३ गते बुटवल उपमहानगरपालिकाका ३९ जना सरसफाईकर्मीलाई सम्मान, तिलोत्तमाको वडा नं. १ तथा वडा नं. ६ देखि ९, र सैनामैनाको वडा नं. ६ देखि ९ सम्म सरसफाई गरिएको छ ।
त्यस्तैगरी असार ४ गते सैनामैना नगरपालिका वडा नं. १० र ११ मा सरसफाई गर्नुको साथै असार ६ गते सैनामैनामा नगर पार्टी कार्यालय उद्घाटन गरिएको उहाँले जानकारी गराउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)