बुटवल, असार ५।
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्यो।
यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्यो।नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले नटआउट ७७ रन जोडे।उनले ११४ बलमा ७ चौका र १ छक्का हिर्काए।
यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए।कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए। यस्तै आसिफ शेख १२ रनमा अमेरिकाका नेत्रभाल्करको एलबिडब्लूको धरापमा पर्दा कुशल भुर्तेल ३९ रनमा केन्जिगेबाट क्याच भए।
त्यसअघि जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)