Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पहिलो भेट नै अन्तिम भेट भयो...

पहिलो भेट नै अन्तिम भेट भयो...

  • 2.3K
    SHARES

  • पहिलो भेट नै अन्तिम भेट भयो...

    -दीपक विश्वकर्मा (छविलाल)

    जुन समय म बाको खोजीमा मेघालयको नङ्पो पुगेँ, बास्तवमा मेरो उमेर ऋणधन, आयआर्जन, श्रीसम्पतिको बारेमा चिन्तन मनन् गर्ने भएकै थिएन । सरासर पढेको भए २५ वर्षमा ब्याचलर सकिन्थ्यो । त्यसपछिका दुई वर्षमा मास्टर्सको सर्टिफिकेट हातमा हुन्थ्यो । मिसनको छात्रवत्ति भएकाले आर्थिक समस्या थिएन । धैर्यता र लगनका साथ पढाइलाई जारी राखेको भए, बाको काँधथाप्न कुनै आइतबार कुर्नुपर्ने थिएन । आज आएर महशुस हुन्छ, सबै आफैले बिगारेको थिएँ मैले मेरो भविष्यको उज्यालो पाटो । 
    पार्टीको आन्तरिक जीवनलाई तालमेल मिलाउने नाममा पार्टीले नै मेरो बिवाह गरिदिएको थियो मेरो । कहिलेकाँही कार्यकर्ता एवम् समर्थकहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ पार्टीलाई, त्यहि व्यवस्थापनको सिलसिलामा मेरो बिवाह हुनगएको हो । पार्टी मै जीवन अर्पेको हुनाले आएको प्रस्तावलाई इन्कार गर्न सकिएन । उमेर, घरको आर्थिक अवस्था तथा कथंकदाचित पार्टी जीवनको अन्त्य भयोभने आगामी दिनहरूलाई कसरी बेहोरिला भन्ने ठोस रुपरेखा पनि थिएन मसँग ।

    कच्चै उमेर, बीचैमा छोडिएको पढाइ, साथमा हुनेखाने घरकी एक बाला, प्रदेश लागेर पनि बाको उही गाउँघरमा गर्दै गरेको फलामका औजार बनाउने पेशा, उनको पेशामार्फत आर्जन हुने ससानो कमाइबाट पालिनु पर्ने हामी चारजना, यता भाडगाउँ घरमा ससाना दुईटी बहिनी, दुईजना भाइ एक्ली आमाको रेखदेखमा, सबैभन्दा ठुलो कुरो यो विकराल परिस्थितिउपर बेपर्वाह हामीसबैका जन्मदाता बाबु, परिमाणतः दरदर ठक्करखाँदै डुब्नै लागेको बाको त्यो जहाजको उद्दारमा म भौतारिरहेको थिएँ, कहिले सिलाङ, कहिले गुवाहाटी र कहिले दिल्ली । कहिँकतैबाट उपाय नलागेपछि देवदूतीय अवतार लामाबाको सल्लाह बमोजिम पुगेको थिएँ त्यो विशाल जंगलैजंगलले घेरिएको अकण्टार भूमि उमराङ्सोमा म । सोही उमराङसोको १९ किलो भन्ने ठाउँमा चन्द्रबहादुर क्षेत्री भेटिने कुरो थियो लामा बाको । अन्ततः बिहानको लगभग ११ बजेतिर काठका गोलीया लोडगरेको ट्रकमा सवार भएर पुँगे म १९ किलो । ट्रकबाट ओर्लिएर बासको कप्टेराबाट बनेको एउटा छाप्रोमा पुगि जनजाति जस्तै देखिने एक दिदीलाई सोधेँ—चन्द्रबादुर क्षेत्रीलाई भेट्नु थ्यो । काँ हुनुन्छ होला ?

    जाति, जनजाति भन्ने शब्द जो मैले लिखतमा उतारिरहेको छु, यी आजका शब्दहरू हुन् । सो बेला जात, मानिसहरूको समुह विभाजन, आर्य, अनार्य, मंगोल तथा उनीहरूको नेपाल प्रवेश आदिको चक्रब्युहमा मेरो दिमाग फसिसकेको थिएन । हामीले स्कुल पढ्दा चार जातको कुरो पढ्थ्यौ । नेपालमा ४ जात, ३६ वर्ण छन् भन्ने भाष्य घोकान्थ्यो । कालान्तरमा ४ जात होइन, ४ वर्ण र जात ३६ मात्र नभएर सयभन्दा बढी छन् भन्ने कुरो सतहमा आयो ।

    ४ वर्ण भनेको विराट आदि पुरुषको मनुस्मृतिकालीन ब्याख्या हो भन्ने कुरो त झन् नेपालमा २०५२ सालबाट सुरुभएको जनयुद्धको सेरोफेरोमा मात्र जानकारीमा आयो । यद्यपि यो विषय यहाँ प्रसंगबस उठाएर आजको जात सम्बन्धमा गरिएको समाजशास्त्रीय ब्याख्यालाई मैले १९ किलोमा प्रथम पटक संवाद गरेकी महिलालाई पहिचानदिन खोजेको मात्र हुँ । “तपईँ काँ ट आम्नु भको हो र भाइ ? चन्द्रबादुर बेलुका याँ बस्दैनन् । काममा आका भा, ऊ तो परको छाप्रोमा होलान् । दिनभरी त्यै बस्छन् ।” मेरो आगमन बारे प्रश्न सोध्नु, चन्द्रबहादुरको बारेमा बताउनु ती मंगोल अनुहारकी दिदीको एकै साथ भयो । “म त सिलाङतिरा ट आओ हुम् । वाँ ला भेट्न छ” आफ्नो काम भइसकेपछि ती दिदीको प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । “हुन्च दिदी म त्यै जान्चु । वाँ ला त्यै गर भेट्चु ।” म ती दिदीसँग बिदा भएर ट्रक गएदिसातिर अगाडि बढे । लगभग २ सय मिटर हिँडेपछि खरले छाएको छाप्रो आयो । मनमा अनेकौ तर्कवितर्क खेलाउँदै म त्यो छाप्रोमा पुग्न अलि हतारिएको संझना छ । त्यो क्षेण मेरो जीवनको सबैभन्दा अहम् दिन थियो । सिंगो भविष्यसँग जोडिएको चन्द्रबहादुर क्षेत्रीसँग हुने साक्षातकार कुनै कम्पनी वा सरकारी ओहदामा कर्मचारी छनोटको लागि लिइने अन्तर्वार्ता जस्तै हुनसक्ने संभावना थियो उनीसँगको मेरो पहिलो भेट । 


    बासको खामोमा ठडिएको खरको छानो भएको त्यो छाप्रो ससानो भट्टीपसल रहेछ । पान, बिडी, सुर्तीका अनेकौ प्रकार तथा रक्सीपानीसमेत पाइने दोकान रहेछ त्यो बुकुरो । एकजना जनजाति समुदायको चेहरा भएकी महिला दोकानमा हुनुहुन्थ्यो र ग्राहकहरूको लागि बस्नको लागि बनाइएको बेन्चमा  एकजना अधबैसे मानिस बसेका थिए । उनको अगाडि लाउपानीले भरिएको बोतल खडा थियो । लाउपानीसँग म नङ्पो मै परिचित भइसकेको थिए ।

    लाउपानी जाँडको झोल हो । भातमा मर्चा मिलाएर धेरैदिन राखेपछि निख्खर पहेलो झोल बन्छ । मैले सुनेअनुसार लाउपानीलाई एकाध वर्ष जमाएर राख्नेहो भने भाँडोभित्र बडेमानको किरा बन्छ । त्यो किरालाई फुटाएर त्यसभित्रको झोल खाने हो भने तीनपाने रक्सीको नसाभन्दा कडा नसा लाग्छ । 
    गहुँगोरो नभनौ, औसत पहाडीया नेपालीको भन्दा केही कालो वर्णका ती ब्यक्तिले लाउपानीको बोत्तल खोलेर गिलासमा खन्याउँदै टाउको उठाए र गहनभावमा नियाले मलाई । “सायद यिनै हुनन्, चन्द्रबहादुर क्षेत्री” मैले मनमनै लखकाटे र दोकानको बिना बारको संगारमा उभिएर ती लाउपानी पिउँदै गरेका ब्यक्तिलाई नमस्कार टक्राउँदै आफ्नो कुरो जाहेर गरे—म नङ्पोबाट आएको हुम् । एकजना लामा बाले यस ठामको ठेगाना दे र भन्नु भ,को थियो— १९ किलोआँ चन्द्रबादुर भेटिन्चन् । त्याँ जाउ र कुरो गर ।” 
    “म नै हुँ चन्द्रबहादुर” भन्ने ती मान्छेको उत्तर नआउँदै मैले लामा बाले भनेको सबै कुरा सुनाएँ । मेरो भित्री मनले ठम्याइसकेको थियो ती मानिस अवश्य चन्द्रबहादुर क्षेत्री नै हुनुपर्छ । मेरो कुरो सुनिसकेपछि एक सिरिप लाउपानीको घुड्को पिएर मुख खोले । “मै हुम् चन्द्रबादुर क्षेत्री, भन के भन्न आका हौ तिमी त्यति टाढाट” ।

    त्यसैबीचमा दोकानकी दिदीले मलाई बेञ्चको एक छेउँ देखाउँदै बस्न भनिन् । एक बेञ्चमा चन्द्रबहादुर क्षेत्री अर्को छेउमा म, बसेर कुरो सुन्नेसुनाउने काम भयो । मैले कुनै कुरो लुकाइन क्षेत्रीसँग । दोकानी दिदीको अगाडि मेरा कुरा भन्न मलाई कुनै संकोच पनि लागेन । तर कतिपय कुराहरूभने सहीसही बताउनु नहुने थियो । जस्तो म पढाइ छोडेर राजनीतिमा होमिएको कुरो । कम्युनिष्ट पार्टीको पेसेवर कार्यकर्ता भएको कुरो । सो बेलासम्म पनि पार्टीसँग साइनो नतोडिएको आदि कुरा सुनाउन हुन्थेन । अथवा सुनाएता पनि ती क्षेत्रीले बुझ्न सक्ने वा नसक्ने मलाई अन्दाज थिएन । सबभन्दा ठूलो कुरो क्षेत्रीको पढाइको स्तर, राजनीतिको आस्थाको प्रश्न अहम् हुन्थ्यो । त्यसैले मैले उनलाई सर्प पनि मर्ने, लाठी पनि नभाँचिने तरिकाले कुरो सुनाउँदै लामाबाको बचनलाई उनको अगाडि राखिदिएँ— मलाई कुनै काठ कम्पनीमा काम लगाइदिनु प¥यो हजुरले ।

    नत्रभने नेपाल फर्किन नसकिने भै यो ।
    लामा बा को थिए, भन्ने बारेमा क्षेत्रीले मलाई कुनै प्रश्न गरेनन् । बरु जिज्ञासा राखे, कहिले उमराङ्सो आइपुगेको, कहाँ बसेको तथा कहिले फर्किने आदि इत्यादि सम्बन्धमा । लिली होटेलमा राति कोठा कम्ती हुनुको कारणले बास नपाएको कुरो उनलाई सुनाएँ । तर धर्मशालाको हेरालुले जातकै कारणले बास नदिएको कुरो सुनाउन मन लागेन । लामा बा हाम्रो आरनमा दाउ बनाउन आएको कुरो सुनाइसकेकोले उनले मेरो जात थाहा पाइसकेका थिए । तर उनमा मेरो जातको कुराले कुनै असर देखिएन । बरु हौसाउँदै भने, याँ २९ किलोआँ सुनार जातका एकजना पढालेखा मास्टर छन् । स्कुल खोल्याचन् गरमपानीयाट आका नेपालीहरूले । त्यै स्कुलाँ पढाम्चन् । आचौ आचौ एकपटक उनलाई भेट । उनले तिम्लाई काम खोज्दिन सक्चन् । 
    मेरो गन्तब्य थिए, चन्द्रबहादुर क्षेत्री । उनी साँच्चै नै १९ मै भेटिए । लाउपानीको रमरममा उनी रातोपिरो हुँदै थिए । लामा बाले मलाई भनेको अर्को कुरो थियो, चन्द्रबहादुरले हाइदर अलीलाई भन्दिने हो भने हाइदर अलीले मारवाडी आसामी काठ कम्पनीमा काम लगाइदिन्छन् । त्यस सम्बन्धमा उनले मलाई भनेका थिए— तिमी आएका छौ बल्ल । हाइदरसित भेटहुँदा म कुरो गर्चु । कम्पनी ठूलो छ । काम पाइन्च तर टाइम लाग्च । पढालेखा रचौ एकपटक २९ किलो गएर मास्टरलाई भेट । उनले पनि तिमीलाई काममा लाउन सक्चन् । मारवाडीहरूले मास्टररू को कुरो सुन्चन् । २९ किलोवाला कुरालाई चन्द्रबहादुरले पुनः दोहोराएर भने ।  
    आशाका किरणहरू भर्भराउँदै फैलिए मेरो मुर्झाउँदै गरेको जीवनरुपि क्षितिजमा । एकाधघण्डा सो छाप्रोमा बसेर मैले ती क्षेत्रीसँग कुरो गरे । कुरो के गरे भन्नु मन बिसाएर हल्का पारे । दोकानी दिदीले चिया बनाएर दिइन् । चिया पिएर सकियो, तर कुरोको बिट सकिएको थिएन । अन्तिम निक्र्योलको लागि क्षेत्रीसँग जिज्ञासा राखेँ— यति टाढा आइयोआइयो, अव के कुरो लेर फर्किम्तो म नङ्पो हजुर ? जनबोलीमा लम्फु चलेता पनि मैले नङ्पो नै उच्चारण गर्ने गर्थेँ । 
    “तिमी भोलि नै लम्फु(नङ्पो) नफर्क । उनले पनि नङ्पोलाई नङ्पो उच्चारण नगरेर लम्फु उच्चारण गरेका थिए । त्यसको मतलव उनी नङ्पोसँग परिचित रहेछन् भन्ने लख काँटे मैले । उनले सकारात्मक कुरो थपेका थिए—भेटहुदाँ म हाइदरलाई भन्चु । तिमी पनि एकपटक २९ किलो जाऊ र मास्टरलाई भेट । याँ काम पाइन्च । ढिलोचाँढो मात्रै हो । लक कटिङ्गको काम पाइन्च जतिपनि । तो तिम्ले सक्चौजस्तो लागेन । आरा चलाम्न सक्ने हातगोडा रैनचन तिम्रा । पढालेखा रचौ, तिम्ले गर्ने भनेको मोहोरीको काम हो । फिता समार कुन्दाको नापो लिने । हाम्लेझै सरदारको काम गर्न टेम लाग्च । काम दोर्न पर्च । उत्तिखेरै हुन्न ।” पहिलोपटक कुन्दा भन्ने सब्द सुने क्षेत्रीको मुखबाट । गोलीयालाई कुन्दा भन्दाहुन् लख काटेँ मनमनै ।

    सोही बेला एउटा काठको गोलीया लोड भएको गाडी भर्भराउँदै दोकानको तलतिरबाट उक्लिएर आयो । त्यो ठाउँ काठ कम्पनीको डिपो रहेछ । पहिल्यै चाँङ्ग मिलाएर राखिएका गालीयाउपर ट्रक सटिएर खडा भयो र अनलोड हुन थाल्यो । गाडी खडा गरेर ड्राइभर सोही होटलतर्फ आयो र चन्द्रबहादुरसँग कुरो गर्न थाल्यो । म पनि बिदाभएर उमराङ्सो फर्किन थालेँ । हिड्नेबेलामा चन्द्रबहादुरले भनेको संझना छ— म यहिँ बसिरहन्छु । हाइदरसित पनि कुरो गर्छु । तिमी २९ किलो गएर सुनार मास्टरलाई भेट । तिम्रो काम बन्छ, चिन्ता नगर ।

    होटेल साहुनीलाई चियाको पैसा तिर्न खोजेको थिएँ, चन्द्रबहादुरले तिर्न दिएनन् वा साहुनीले नै पैसा लिइनन् संझना छैन । तर, लामाबाको बचन खेर गएन । चन्द्रबहादुर मेरो जीवनमा अर्को फरिस्ता सावित भए ।

    विडम्बना, जसले सुझाएको सल्लाहलाई हृदयगम गरि म उमराङ्सोमा एक सफल काठब्यापारी बन्नपुँगे, तिनै चन्द्रबहादुरसँगको त्यो पहिलो भेट नै अन्तिम भेट हुन पुग्यो । काम स¥यो, लौरो बिर्सियो जस्तै कृतघ्न भएँ म । उनलाई भेटगर्ने मेसो नै मिलेन । कहाँ हुनन् मेरो जीवनमा आइपरेका ती तेस्रो देवदूतीय अवतार चन्द्रबहादुर क्षेत्री ? जसको दिलेरी सल्लाहले मलाई एउटा मुकाम भेटाउन सहयोग पुग्यो । उनी जहाँ छन् जेजस्तो अवस्थामा छन्, सहिसलामत रहुन् । 

    २०८०, जेठ २६
    बुटवल ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology