Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अस्ट्रेलिया विद्यार्थी भिसा शुल्क बढ्यो: अब निर्णय भावना होइन,वास्तविक योग्यता र तयारीका आधारमा गरौं

अस्ट्रेलिया विद्यार्थी भिसा शुल्क बढ्यो: अब निर्णय भावना होइन,वास्तविक योग्यता र तयारीका आधारमा गरौं

  • 855
    SHARES

  • अस्ट्रेलिया विद्यार्थी भिसा शुल्क बढ्यो: अब निर्णय भावना होइन,वास्तविक योग्यता र तयारीका आधारमा गरौं

    - रोशन कँडेल

    अस्ट्रेलिया सरकारले १ जुलाई २०२६ देखि अन्तर्राष्ट्रिय विद्यार्थीका लागि Student Visa (Subclass 500) को आवेदन शुल्क बढाएर AUD 2,500 पुर्‍याएको छ।

    हालको विनिमय दरअनुसार यो रकम करिब नेपाली रु. २ लाख २३ हजार बराबर पर्छ। शुल्क वृद्धिसँगै अस्ट्रेलियामा अध्ययनका लागि आवेदन गर्नु पहिलेभन्दा अझ जिम्मेवारीपूर्ण निर्णय बनेको छ।

    अस्ट्रेलिया आज पनि विश्वका उत्कृष्ट उच्च शिक्षा गन्तव्यमध्ये एक हो। विश्वस्तरीय विश्वविद्यालय, गुणस्तरीय शिक्षा, अनुसन्धानका अवसर तथा अन्तर्राष्ट्रिय स्तरको डिग्रीका कारण हरेक वर्ष लाखौं विद्यार्थी अस्ट्रेलिया पुग्ने गर्छन्।

    त्यहाँबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू अस्ट्रेलियामै मात्र नभई अमेरिका, बेलायत, क्यानडा, युरोप तथा विश्वका विभिन्न देशहरूमा प्रतिष्ठित पदमा कार्यरत रहेको देख्न सकिन्छ। त्यसैले अस्ट्रेलियामा अध्ययन गर्ने सपना धेरै नेपाली विद्यार्थीहरूको हुनु स्वाभाविक हो।

    तर सपना मात्र पर्याप्त हुँदैन। विदेश अध्ययनका लागि इच्छा मात्रै भएर पुग्दैन; त्यसका लागि आवश्यक शैक्षिक योग्यता, अंग्रेजी भाषा दक्षता, आर्थिक क्षमता र विश्वसनीय कागजात पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। आजको अवस्थामा सानो रकम खर्च गरेर वा अरूको देखासिकीमा विदेश अध्ययन सम्भव छैन।

    पछिल्लो समय सामाजिक सञ्जालमा Visa Grant का पोस्ट, आकर्षक विज्ञापन तथा सफलताका कथाहरू व्यापक रूपमा प्रचार भइरहेको देखिन्छ। कतिपय अवस्थामा यस्ता प्रचारले भिसा सजिलै प्राप्त हुन्छ भन्ने धारणा पनि सिर्जना गरिरहेको छ।

    तर वास्तविकता के हो भने प्रत्येक विद्यार्थीको भिसा आवेदन व्यक्तिगत रूपमा मूल्याङ्कन हुन्छ। शैक्षिक योग्यता, अंग्रेजी भाषा दक्षता, अध्ययनमा आएको अन्तर (Study Gap), आर्थिक स्रोत, बैंक विवरण, आम्दानीका प्रमाण, प्रायोजकसँगको सम्बन्ध, रोजिएको विषयको सान्दर्भिकता, अध्ययनको उद्देश्य तथा भविष्यको योजनाका आधारमा मात्र निर्णय हुने भएकाले कसैको भिसा लागेको आधारमा अर्को व्यक्तिको पनि लाग्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन।

    मेरो सबै विद्यार्थी र अभिभावकलाई विनम्र अनुरोध छ—कुनै कन्सल्टेन्सीको आकर्षक विज्ञापन, सामाजिक सञ्जालमा देखिने Visa Grant पोस्ट, साथीभाइको अनुभव वा मौखिक आश्वासनका आधारमा विदेश अध्ययनको निर्णय नगर्नुहोस्। विदेश अध्ययन जीवनको सबैभन्दा ठूलो लगानीमध्ये एक हो। त्यसैले आवेदन गर्नु अघि आफ्नो शैक्षिक योग्यता, अंग्रेजी भाषा क्षमता, पारिवारिक आर्थिक अवस्था, बैंक कारोबार, सम्पत्ति, प्रायोजक, अध्ययनको उद्देश्य तथा सम्पूर्ण प्रोफाइलको इमान्दार मूल्याङ्कन गर्नु अत्यन्त आवश्यक छ।

    आजको अवस्थामा यदि विद्यार्थी भिसा अस्वीकृत भयो भने आवेदन शुल्क, विश्वविद्यालयमा गरिएको प्रारम्भिक शुल्क, स्वास्थ्य बीमा (OSHC), मेडिकल परीक्षण, भाषा परीक्षा, बायोमेट्रिक्स, कागजात तयारी तथा अन्य प्रक्रिया खर्च जोड्दा करिब ८ देखि १० लाख रुपैयाँसम्मको आर्थिक नोक्सानी हुन सक्छ। वास्तविक रकम विद्यार्थीअनुसार फरक हुन सक्छ, तर जोखिम भने सानो छैन।

    तर आर्थिक क्षतिभन्दा पनि ठूलो कुरा समयको क्षति हो। एउटा विद्यार्थीका लागि एक शैक्षिक वर्ष गुम्नु भनेको अर्को इन्टेक कुर्नु, करियर एक वर्ष पछाडि धकेलिनु, आत्मविश्वास कमजोर हुनु र परिवारमाथि थप आर्थिक तथा मानसिक दबाब पर्नु हो। यो क्षति पैसाले मात्र पूरा गर्न सकिँदैन।

    अपेक्षा अनुसार नतिजा नआउँदा कतिपय विद्यार्थीहरू गम्भीर मानसिक तनाव, अवसाद (Depression) मा पुग्ने र विश्वका विभिन्न देशहरूमा आत्महत्यासम्म गरेका घटनाहरू पनि सार्वजनिक भएका छन्। त्यसैले विदेश अध्ययनलाई केवल विदेश जाने माध्यमका रूपमा होइन, जीवनको महत्वपूर्ण निर्णयका रूपमा हेर्न आवश्यक छ। मानसिक रूपमा पनि आफूलाई तयार पारेर मात्र यस्तो निर्णय लिनु उपयुक्त हुन्छ।

    विदेश अध्ययन नै सफलताको एकमात्र बाटो पनि होइन भन्ने कुरा हामी सबैले बुझ्न आवश्यक छ। आर्थिक अवस्था, शैक्षिक योग्यता वा अन्य आवश्यक मापदण्ड पूरा गर्न नसक्ने विद्यार्थीले आफूलाई असफल ठान्नुपर्ने कुनै कारण छैन। नेपालमै बसेर अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका हजारौं उदाहरण छन्।

    यदि अहिलेको अवस्थामा अस्ट्रेलियाको आवश्यक आर्थिक वा शैक्षिक मापदण्ड पूरा हुँदैन भने, हतारमा लाखौं रुपैयाँको जोखिम उठाउनुको सट्टा नेपालमै गुणस्तरीय शिक्षा हासिल गर्दै आफ्नो ज्ञान, सीप र अनुभव विकास गर्नु पनि उत्तिकै सम्मानजनक र बुद्धिमानीपूर्ण निर्णय हुन सक्छ।

    अन्त्यमा, मेरो सबै विद्यार्थी र अभिभावकलाई फेरि एकपटक यही आग्रह छ—अरूको लहलहैमा होइन, आफ्नै योग्यताको आधारमा निर्णय गर्नुहोस्। विदेश अध्ययन एउटा सपना हो, तर त्यो सपना सही तयारी, यथार्थपरक योजना र जिम्मेवार निर्णयबाट मात्र सफल हुन्छ। यदि आज तपाईंको शैक्षिक वा आर्थिक अवस्था अस्ट्रेलियाको आवश्यक मापदण्डअनुसार छैन भने त्यसलाई असफलता नठान्नुहोस्। आफ्नो प्रोफाइलसँग मेल खाने UK, Canada, New Zealand, USA, Malta, Japan लगायतका अन्य अध्ययन गन्तव्यहरू पनि विचार गर्न सकिन्छ। किनकि सफलताको आधार देश होइन, तपाईंले प्राप्त गर्ने गुणस्तरीय शिक्षा, विकास गर्ने सीप र बनाउने करियर हो। सही समयमा गरिएको सही निर्णयले भविष्य निर्माण गर्छ, तर हतारमा गरिएको गलत निर्णयले लाखौं रुपैयाँसँगै जीवनको बहुमूल्य समय पनि गुमाउन सक्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आषाढ १७ २०८३०५:१३:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology