बुटवल,जेठ ११ ।
लोकतन्त्रबादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने भएको छ। युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२ देखि १४ गतेसम्म त्रीदिवसिय कार्यक्रम सहित स्थापना दिवस मनाउने निर्णय गरेको हो।
स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए।
स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान शाखालाई केन्द्रीय समितिले आग्रह गरेको छ।जेठ जेठ १३ गते केन्द्रीय समितिको आयोजनामा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी आयोजना गरी मूल समारोहका साथ स्थापना दिवस मनाउने निर्णय भएको छ।
युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ।
युनियनको स्थापना २०४८ सालमा भएको हो।
दिवसकै अवसरमा रुपन्देही शाखाले बुटवलमा बिहान आठबजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष कविन्द्र नेपालले बताए।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)