सिद्धार्थनगर,जेठ ५ ।
नेपाल प्रहरीको समन्वयमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउने क्रम जारी राखेको छ । सडक र फुटपाथ अतिक्रमण हटाउनका लागि पालिकाले नगर प्रहरी परिचालन गरेको हाे। जिम्मेवारी सम्हाले लगत्तै नगर प्रमुख इश्तियाक अहमद खाँनले सडक सफा हराभरा र सडक फुटपाथ अतिक्रमण हटाउने जनाउ दिएका थिए ।
उनले थालेको अतिक्रमण हटाउने अभियान जिल्लाका अन्य पालिकाले पनि सिको गर्न थालेका छन् ।सार्वजनिक सम्पत्ति अतिक्रमण गरी बनाइएको वा बनाउँदै गरेमा देखिएमा नगरपालिको कार्यालयलाई जानकारी गराउन समेत कार्यालयले आग्रह गरेको नगर प्रमुख खाँनले नागरिक अनलाइनलाई बताए ।
पालिकाबाट खटिएका नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएका विभिन्न साम्रगी नियन्त्रणमा लिएका छन् । त्यस्तै संरचनाहरु हटाइएका छन् । सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको एक थान मोटरसाइकल, ठेला, काठ, विभिन्न प्रकारका साइन बोर्ड, फर्निचर लगायतका साम्रगीहरु नियन्त्रणमा लिइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताए ।
‘हामीले विगत केही महिना देखि सडक र फुटपाथ अतिक्रमण गर्न नगर प्रहरी खटाएर सबैलाई सचेत गराउँदै आएका थियौ’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘अटेर गरिरहेका उपर अब कारवाही प्रक्रिया सुरु गरेका छौँ ।’
नियन्त्रणमा लिइएका साम्रगी लिन आउने व्यवासायीको व्यवसाय सम्बन्धिका कागजात समेत हेर्ने गरिएको छ । यदि केही कैफियत देखिएमा त्यस उपर पनि कारवाही प्रक्रिया अघि बढाइने उनले बताए । नगरपालिका पहिल्ला दिनमा दैनिकरुपमा अतिक्रमण हटाउने कामलाई तिव्रता दिएको छ ।
सिद्धार्थनगरले नगर क्षेत्रको सार्वजनिक तथा सामुदायिक सम्पत्ति बनाइएको संरचना हटाउन आग्रह गरेको हाे । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकिएकोले नगरपालिकाको कार्यालय सार्वजनिक तथा सामुदायिक सम्पत्ति बनाइएको संरचना हटाउन आग्रह गरेको हो ।
नगर क्षेत्रमा सार्वजनिक सम्पति अतिक्रमण गरेर संरचनाहरु बनाइएको भए त्यस्ता संरचनाहरु हटाउन नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गरेर ३५ दिन अल्टिमेटम दिएर काम थालेको हाे । पहिलाेचरणमा अल्टिमेटम दिइएको हाे भने अटेर गर्नेलाई तत्कालै कानुनी दण्डा लगाइएको नगरपालिकाले जनाएको छ ।
‘सार्वजनिक सम्पति अतिक्रमण गरेर बनाइएका संरचनाहरु आफै हटाउनका लागि हामीले सूचना जारी गरेर ३५ दिनको समय दिएका छौँ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि समयावधी भित्र संरचना हटाइएन भने नगरपालिकाको कार्यालयले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउँछ ।’
कार्यालय कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउँदा हानी नोक्सानी बापतको क्षतिपूर्ति समेत सम्बिन्धत पक्षलाइ कानुन बमोजिम भराइने उनले बताए । नगरपालिकाले यस अघि सिद्धार्थनगर नगरपालिका‐१ स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु डोजर लगाएर भत्काएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)