दाङ,जेठ २ ।
नेपाल प्रेस युनियन दाङमा पदहस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेलले नवनिर्वाचित कार्यसमितिलाई व्यवसायिक पत्रकारितासँगै सामाजिक मुद्दालाई उठाउन सुभाव दिएका थिए ।
पत्रकारितासँगै सामाजिक मुद्दाहरुको उठान गरेरै दाङमा प्रेस युनियन स्थापित भएको भन्दै उनले राजनीति विषयसँगसँगै सामाजिक मुद्दाहरुमा बहस चलाउन आग्रह गरे । पोख्रेलले युनियनको मर्म र उद्देश्य अनुसार लक्ष्य प्राप्तीका लागि एकजुट भएर लाग्न सवैलाई आग्रह गरेका थिए ।
युनियन दाङका निवर्तमान अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा पदहस्तान्तरण कार्यक्रम भएको हो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक सुदीप गौतमले प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रेस युनियनका लुम्विनी प्रदेश अध्यक्ष एवं निर्वाचन समिति संयोजक सुदीप गौतमले जिल्लामा संगठनलाई संगठित र गतिशिल बनाउनका लागि सवैसँग सल्लाह र समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापनसँगै पत्रकारिताको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै व्यवसायीक पत्रकारिताको विकासमा लाग्न आग्रह गरे । युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य बिमल ज्ञवाली, नेपाल प्रेस युनियन दाङ शाखाका नवनिर्वाचित अध्यक्ष नारायण खड्का,निवर्तमान उपाध्यक्ष देव यादव, निवर्तमान सचिव आर के शीतल लगायतले बोलेका थिए ।
यसैविच नेपाल प्रेस युनियन दाङको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक घोराहीमा सम्पन्न भएको छ ।नवनिर्वाचित अध्यक्ष खड्काको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सवैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
बैठकले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरु गर्ने र त्यसका लागि समन्वय गर्ने जिम्मा अध्यक्ष खड्कालाई दिने निर्णय गरेको सचिव अमरक्षितिज भण्डारीले बताए । युनियन दाङको नियमित बैठक प्रत्येक महिनाको दोश्रो शनिवार बस्ने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)