Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्त्व’ : प्रधानमन्त्री ‘प्रचण्ड’

‘लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्त्व’ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • 1.3K
    SHARES

  • ‘लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्त्व’ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौँ,वैसाख २० ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । 

    विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं विकासका निम्ति यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको उल्लेख गरे । उनले भने, “प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो, लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ ।”
        
    प्रधानमन्त्री दाहालले नेपालको संविधानको मूल मर्म र भावना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै प्रधानमन्त्री दाहालले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना र सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारीसमेत दिए। 

    त्यसैगरी सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बिमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको उनको भनाइ छ । 
        
    “प्रेस स्वतन्त्रता दिवसबाट राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, यही कामनासहित सबैमा पुनः हार्दिक बधाई तथा शुभकामना”, शुभकामना सन्देशमा भनिएको छ । उनले दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, न्याय र समानताका लागि विभिन्न आन्दोलन र सङ्घर्षमा सहादत प्राप्त गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । बेपत्ता योद्धाप्रति उच्च सम्मानका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने प्रधानमन्त्री दाहालको प्रतिबद्धता छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology