दाङ,वैशाख १८ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो पहिलो प्राथमिकता प्रदेशको आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस दाङले सोमवार घोराहीमा आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा बाेल्दै चौधरीले प्रदेशका १२ जिल्लाका हरेक गाउँमा हरेक नागरिकहरुले घरमा प्रदेश सरकारको अनुभुति गर्नेगरी आफुले प्रदेशको समृद्धिलाई प्राथमिकता राखेर काम गर्ने बताउनुभयो । उहाँले जनतालाई आर्थिक रुपमा सक्षम गराउँदै प्रदेशको समृद्धिमा ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।
‘अहिले प्रदेशमा आर्थिक संकट देखापरेको छ’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘त्यसलाई सुधार गर्दै समृद्ध प्रदेश गराउने मेरो प्राथमिकता हुनेछ ।’
उहाँले ग्रामीण क्षेत्रका जनतालाई विकासको अनुभव हुनेगरी प्रदेश सरकारले काम गर्ने बताउनुभयो । अबको विकास भनसुन र व्यक्तिका चाहनाभन्दा पनि आमनागरिकको आवश्यकताका आधारमा हुने मुख्यमन्त्री चौधरीको भनाइ छ । भर्खर आफु मुख्यमन्त्री बनेको भन्दै उहाँले लुम्बिनी प्रदेशमा रहेका सवै दलहरुसँग सहकार्य गरेर प्रदेशको विकासका लागि लाग्ने बताउनुभएको थियो ।
‘प्रदेशको विकासका लागि सबै दलहरुसँग सल्लाह र सहकार्य गरेर अघि बढ्ने छु’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘सबैको सहकार्यबाट प्रदेशको समृद्धि हासिल गर्न सकिन्छ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)