बुटवल,बैसाख १३।
लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भएको छ । प्रतियोगिताको एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे ।
निर्धारित समयभन्दा एक दिन पछि मात्र प्रदेश सरकारले रोक्का गरेको बजेट फुकुवा गरेपछि एकदिन ढिला प्रतियोगिता शुरु भएको हो ।उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले युवाहरुलाई अनुशासित बनाउन र विकासमा जोड्न खेलकुद महत्वपूर्ण माध्यम हुन सक्ने बताए ।
उनले खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यमा मात्र सिमित राख्न नहुने बताउँदै खेलकुदले समग्र देशको विकासमा भूमिका खेल्ने उल्लेख गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दुर्ब्यसनीमा लागेका युवालाई सहि मार्गमा ल्याउने मुख्य माध्यम खेलकुद हुन सक्ने बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको उदघाटन समारोहमा सांसद सिके गुप्ता, कोशिश खड्का लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । उदघाटन सत्रमा प्रदेशप्रमुख शेरचनले ब्यानर उडाउनुका साथै खेलकुद मशाल खेलाडीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा निर्णायकहरुको तर्फबाट पद्मा चोधरी र खेलाडीहरुको तर्फबाट तुलसीराम थारुले सपथ ग्रहण गरेका थिए । खेलमा तेक्वाण्दो तर्फ रुपन्देही २, दाङ २ तथा बाँके र नवलपरासीले १–१ स्वर्ण पाएका छन् ।
त्यसैगरि एथ्लेटिक्समा बाँके ४, दाङ ३ स्वर्ण, कपिलवस्तु ३ र बर्दियाले २ स्वर्ण जितेका छन् ।प्रदेशभरिका १ हजार ८० खेलाडी र १५० अफिसियलहरु प्रतियोगितामा सहभागी रहेका छन् ।
१३ औ संघीय तथा दोस्रो प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता २०८० को उपाधि बाँके जिल्लाले चुमेको छ । बुटवलमा सम्पन्न प्रतियोगितामा बांकेले ९ स्वर्ण, ७ रजत तथा १५ कास्य जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो । बाँके यसअघिको बिजेता पनि हो ।
प्रतियोगितामा कपिलवस्तुले ९ स्वर्ण, ६ रजत र ८ कास्य जित्दै दोस्रो तथा बर्दिया ८ स्वर्ण, ८ रजत र १० कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।
मार्शल आर्टमा कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गत १ सय मिटरदेखि ४ सय मिटर दौड, रिले, कबड्डी, भलिबल, लङजम्प, हाईजम्प लगायत विधामा १२ जिल्लाका १ हजार ८० खेलाडीहरु र १ सय ५० अफिसियलहरु सहभागी रहेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले बताउनुभयो ।
बुधबार सम्पन्न प्रतियोगिताबाट ९४ जना खेलाडीहरु काठमाडौमा हुने प्रतियोगिताको लागि छनौट भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई बुधबार अबेर बिदाई समेत गरिएको छ । उनीहरुले बैशाख १५ देखि काठमाडौमा हुने प्रतियोगितामा उनीहरुले भाग लिने छन् ।
एक समारोहका बीच विजयी, उपविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, परिषदका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुदका भुपेन्द्र क्षेत्री (हरि), हरिबहादुर ओली तथा खेल पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले शिल्ड, पदक र प्रमाणपत्र वितरण गर्नुभयो भने प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार उदघाटन गर्नुभएको थियो ।
प्रदेश खेलकुद परिषदको आयोजना तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिको आतिथ्यमा देबिनगर एन्फा एकेडेमी र हाटबजारस्थित कबड हलमा प्रतियोगिता सम्पन्न भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)