बुटवल,वैशाख १२ ।
सिद्बबाबा हस्पिटल प्रालिले छैठौँ वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा ३ दिनसम्म मधुमेह निःशुल्क परीक्षण, ६ सय रुपैयाँमा थाईराईड जाँच, ल्याब सेवामा १० प्रतिशत छुट, होलबडीमा ३० प्रतिशत छुट दिने हस्पिटलका अध्यक्ष दिपेश प्रधानले बताए ।
यस क्षेत्रमै दम, छाती तथा श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सेवाका कारण पहिचान बनाएको उनले दाबी गरे । यसैगरी मुटु, फोक्सो, मृगौला, दम, युरोसर्जरी, हाडजोर्नी, महिला तथा स्त्रीरोग, नसा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सुविधा दिदै आएको उनले बताए । सरकारबाट २४ बेडको मान्यता प्राप्त अस्पतालमा १० वटा आईसियु बेडको सेवा दिंदै आएको उनले बताए ।
पत्रकार सम्मेलन कार्यक्रममा अस्पतालका निर्देशक यमन चन्द प्रधानले विशेषज्ञ चिकित्सकीय सेवा न्यून शुल्कमा दिदै आएको बताए । ‘ओपिडि शुल्क २ सय रुपैयाँ रहेको छ’– उनले भने । यसबाहेक सामाजिक उत्तरदायित्वमा समेत अग्रस्थानमा रहेको उनले बताए ।
यसैगरी ७० वर्षभन्दा माथि, विपन्न, अपाङ्गता भएका बिरामीहरुलाई ओपिडि निःशुल्क सेवा दिदै आएको उनले बताए । समयसापेक्ष अस्पताल साँघुरो भएकाले एक सय बेडको अस्पतालका रुपमा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
आधुनिक प्रविधिहरु भित्र्याउँदै सेवा बिस्तारमा जोड दिएको उनले बताए । यसैगरी विस्तारित ओपिडि सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपाने हालसम्म १ लाख बढी बिरामीहरुलाई सेवा दिन सफल भएको बताए ।
अस्पतालमा वार्षिक २५ हजार बढी बिरामीहरु उपचार गर्दै आएको उनले दाबी गरे । हस्पिटलमा नेपाल सरकारको मान्यता अनुसार निःशुल्क डायलोसिस सेवा समेत दिदै आएको छ ।
‘पाँच वटा मेशिनबाट निरन्तर २० जनालाई दैनिक सेवा दिदै आएका छौ’– उनले भने । अस्पतालले गर्ने डायलासिसको खर्च समयमा सरकारबाट प्राप्त नहुँदा आर्थिक समस्या बढेको उनले बताए । ‘सेवाको रिपोर्ट मासिक पेश गरेपनि भुक्तानीमा समस्या छ ।’– उनले भने । यसपटक कात्तिकबाट सरकारबाट झण्डै एक करोड रुपैयाँ रोकिएको उनले बताए ।
कार्यक्रममा शेयर सदस्य मुकेश श्रेष्ठले समुदायको स्वस्थ्य सेवा मागलाई सम्बोधन गर्दै आएको बताए । अस्पतालले लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठानका विभिन्न पालिकाहरुमा निःशुल्क मृगौला, मधुमेह लगायतका शिविर तथा सचेतनाका कार्यक्रम समेत गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए ।
अस्पतालमा ११ जना लगानीकर्ताबाट २० करोड बढी लगानी रहेको छ । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकहरु, ५ जना मेडिकल अफिसरसहित करिब एक सय चिकित्सक, कर्मचारीहरु कार्यरत छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)