बुटवल,बैसाख ११ ।
विश्वासको मत नपाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरि पदमुक्त भएका छन्। गिरिले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरी सरकार ढलेको हो। यहाँ ८७ सांसद छन् ।
गिरीको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए।
पुस २७ गते लुम्बिनीको माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरिले फागुन ५ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको हो।
गिरी नेतृत्वको सरकारलाई साथ दिएका माओवादी केन्द्र सहित ६ दलले गत चैत १२ गते समर्थन फिर्ता लिएका थिए। अब कांग्रेस नेता डिल्ली चाैधरी मुख्यमन्त्री बन्ने दाउमा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)