बुटवल,बैसाख ९ ।
यसक्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर कम्पनी रजिष्ट्रारको कार्यालय बुटवलमा स्थापना भएको चार वर्ष वितिसक्यो । तर कम्पनी दर्ता र शेयर खरिद विक्रिमा सनाखतको काम बाहेक यो कार्यालयले केही गर्न सकेको छैन ।
यो कार्यालयले कम्पनी ऐन, २०६३ अनुसार कम्पनी दर्ता, कर संकलन, कम्पनी नविकरण, कम्पनी खारेजी लगायतका कामहरु गर्नु पर्ने हो । कार्यालय खुलेको लामो समयसम्म पनि ऐनले निर्दिष्ट गरेका कामहरु नहुँदा यसका सेवाग्राही मकार्मा परेका छन् । कार्यालय स्थापना भएर पनि ऐनले निर्दिष्ट गरेका कामहरु नहुँदा पश्चिम नेपालका उद्योगी व्यवसायीलाई दुईचार दिनको समय निकालेर काठमाण्डौ जानुपर्ने बाध्यता त छँदैछ, खर्चिलो पनि उत्तिकै छ ।
यो कार्यालय स्थापनाको लागि धेरै अगाडिदेखि बुटवल उद्योग वाणिज्य संघले पहल र पैरवी गर्दै आएको थियो । ढिलै भएपनि कार्यालय स्थापना हुँदा उद्योगी व्यवसायी उत्साहित भएका थिए ।तर जुन कामका लागि कार्यालय स्थापना गरिएको हो, त्यस अनुसारका कुनै पनि काम नहुँदा काठमाण्डौ जानुपर्ने बाध्यताले कार्यालय स्थापनाको औचित्यमा प्रश्न उठेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य उज्ज्वलप्रसाद कसजू बताउनु हुन्छ ।
नयाँ दर्ता हुने कम्पनीहरूलाई छिटो, छरितो, सजिलो र प्रभावकारी सेवा उपलव्ध गराउन सेवा विकेन्द्रीकरणको लक्ष सहित ४ वर्ष अगाडि पूर्वमा ईटहरी र पश्चिममा बुटवलमा कार्यालय स्थापना गरिएको थियो । ईटहरी कार्यालयबाट नयाँ दर्ता तथा त्यसको नविकरणका काम भईरहेपनि बुटवलबाट कुनै पनि काम नहुँदा पश्चिम नेपालका सेवाग्राहीलाई काठमाण्डौ जानुपर्ने बाध्यता रहेको नेपाल चार्टड एकाउन्टेन्ट संघ लुम्बिनीका प्रदेश संयोजक प्रेम भुर्तेल बताउनु हुन्छ ।
कम्पनी दर्ता गर्ने तर थप काम केही पनि नहुने भएपछि आफूहरु जान कार्यालयमा जान छोडेको रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी बताउनु हुन्छ । ‘काम नहुने भएपछि किन जाने ?’ उहाँले प्रश्न गर्नुभयो । उद्योग मन्त्रालय अन्तरगत स्थापित कम्पनी रजिष्टारको बुटवल कार्यालयमा ४ जना कर्मचारी कार्यरत छन् । ऐनले निर्दिष्ट गरेका कामहरु कार्यालयबाट नहुँदा कर्मचारी समेत बेकामे भएर बसेका छन् ।
नेपाल चार्टड एकाउन्टेन्ट संघ लुम्बिनीको पहलमा कम्पनी रजिष्टारको बुटवल कार्यालयलाई कसरी गतिशित र कामकाजी कार्यालय बनाउने भन्ने विषयमा बुटवलका व्यवसायिक संघसंस्थाका नेतृत्व बिच छलफल समेत गरिएको छ । उक्त छलफलमा पश्चिम नेपालका सेवाग्राहीलाई लक्षित गरेर स्थापना गरिएको कार्यालयले सेवा दिनेगरी गतिशिल बनाउन सबैले आफ्नो आफ्नो ठाउँबाट पहल गर्ने र आवश्यक परे सबै मिलेर काठमाण्डौ डेलिगेसन जाने निर्णय लिईएको छ ।
कार्यालय स्थापना हुँदा जुन प्रकारको उत्साह र खुसी आएको थियो, काम नुहुँदा त्यो उत्साह निराशामा परिणत भएको रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुली बताउनु हुन्छ । देशभरका सबैलाई काठमाण्डौ गईरहन दुःख पनि भएको र खर्चिलो पनि भएकाले सेवा विकेन्द्रीकरणको सिद्धान्त अनुसार कार्यालय स्थापना गरिएको हो भने कार्यालयमात्रै स्थापना गर्ने भन्दा पनि सेवा विकेन्द्रीकरण हुनुपर्ने उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष गोविन्दप्रसाद गैरेले बताउनु भयो ।
छलफलमा सहभागि सबैले कार्यालयको आवश्यकता बढी भएको र ऐन अनुसार कार्यालयले दिने सेवा सञ्चालनमा जोड दिएका थिए । नेपाल चार्टड एकाउन्टेन्ट संस्था बुटवलका प्रमुख शिवहरी शर्माले कार्यालय मात्रै भन्दा पनि सेवा सहितको कार्यालयको आवश्यकता भएको बताउनु भयो ।
उहाँले सेवा विकेन्द्रिकरणको सिद्धान्त अनुसार सेवा वितरणमा केन्द्रीय कार्यालय गम्भिर भएर अख्तियारी दिनुपर्ने पनि भनाई राख्नुभयो । नेपाल चार्टड एकाउन्टेन्ट संघ लुम्बिनीका कानुनी सल्लाहकार अधिवक्ता किशु शर्मा, अडान रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेल लगायतले कार्यालय दिनुपर्ने सेवा प्रभावकारी बनाउन सबैको पहलकदमी आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)