गुल्मी,वैशाख ८ ।
गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको छ ।
धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।
बिहीबार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)