बुटवल,बैसाख ५ ।
गोरखा दरबारबाट पश्चिमतर्फको एकीकरण मार्गमा पदयात्रा सुरु गरेको नेपाली सेनाको टोली भोलि बुटवल आउने भएको छ । आज मध्यपश्चिम प्रितना हेड क्वाटर बुटवलमा भएको पत्रकार सम्मेलन तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रतिनापति याम ढकालले जितगढी विजय उत्सवको दिन पारेर वैशाख ७ गते जितगढीमा यात्रा सम्पन्न हुने बताउनुभयो ।
ढकालले सोही दिन बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुनर्निर्माण गरेको ऐतिहासिक जितगढी किल्लाको नवनिर्मित संरचना बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उनले एकीकरणमार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको बताउनुभयो ।
गोरखादेखि जितगढी आउने ५५ जनाको टोली र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवद्र्धन तथा सैनिक नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको प्रितनापति ढकालले बताउनुभयो ।नेपाली सेनाका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी छन् ।
सो टोलीले गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा पार गर्ने मध्यपश्चिम प्रितना हेड क्वाटरका नरेश अर्यालले बताउनुभयो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)