बुटवल,चैत २७ ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आइतबार बुटवलमा भएको साधारणसभाको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव डा.मानबहादुर विकेले हाल बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाई समाधान गर्नका लागि दिर्घकालीन रणनितीहरु निर्माण गरी आगामी दिनहरुमा सामुदायिक बैंकिङ्गको धारणालाई अवलम्बन गर्ने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष बाबुराम विश्वकर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका अनुसुचीहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७८/०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु १४ करोड ७९ लाख ६ हजारको ०.७८९५ प्रतिशतले हुन आउने रकम रु ११ लाख ६७ हजार ६ सय ७९ रुपैया नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १५ प्रतिशतले हुने रकम रु २ करोड २१ लाख ८५ हजार ९ सय बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने भएको छ ।
त्यस्तैगरी संस्थाको अधिकृत पूँजी रु २५ करोडबाट बृद्धि गरी रु ५० करोड पुर्याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्य क्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने-गाभिने तथा प्राप्ती/ समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका महत्पूर्ण निर्णयहरु पारित भएको छ ।
सभाको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा देखापरेको चूनौतीको समाधानका लागि दिर्घकालीन रणनीति तथा योजनाहरु निमार्ण गरिने बताउनुभयो ।संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै प्रकारको कमी महशुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा सञ्चालक समितिका सदस्य रेवन्तबहादुर विश्वकर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सूर्य प्रसाद उपाध्यायले गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक डा.यमबहादुर विके, पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेललगायतले आफ्नो राय सुझाव सहित शुभकामना व्यक्त गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)