बुटवल,चैत्र १८ ।
राष्ट्रियताको पक्षमा तयार पारिएको गीत नेपालको जयहोस् को विमोचन गरिएको छ । स्वतन्त्र नागरिक समूह नेपालका संस्थापक अध्यक्ष विश्वराज गैरद्दारा प्रस्तुत गीतको विशेष कार्यक्रमको आयोजना गरी शनिबार बुटवलमा विमोचन गरिएको हो । नेपाली सेना मध्ये पश्चिम बुटवलका उपरथी यामप्रसाद ढकालले उक्त गीतको विमोचन गर्नुभएको हो ।
विमोचन कार्यक्रममा बोल्दै उहांले नागरिकका लागि राष्ट्रियता सबै भन्दा ठूलो विषय भएकाले राष्ट्रियताको पक्षमा वोल्नु र गीत बनाउनु सकरात्मक पक्ष भएको बताउनुभयो । नृत्य निर्देशक कमल राईको निर्देशनमा नेपालको जयहोस गीतको छायांकन रुपन्देहीको बुटवल, लुम्बिनी र पोखरामा भएको हो । स्वतन्त्र नागरिक समूह नेपालले बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट छायाकंन शुभसाइत गरिएको थियो ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी, रुपन्देही शंकरनगरको वनबाटिका,तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय हुंदै पोखरामा छायाकंन सम्पन्न भएको थियो ।म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ ।
राष्ट्र भक्तीको भावनालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका महासचिव टोपबहादुर केसीले जानकारी गराउनुभयो ।
स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाईएको हो । स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैरेको अध्यक्षता र महासचिव टोपबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)