बुटवल,चैत्र १७ ।
संक्रमणकालीन न्यायलाइ सबैको साझा एजेण्डा बनाएर समयमै टुंगोमा पुर्याउनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ‘लोकतन्त्रको १७ बर्ष : संक्रमणकालिन न्याय अलपत्र’ शिर्षकमा आयोजना गरेकोे अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले संसदमा लगिएको बिधेयकलाइ पिडीत तथा मानवअधिकार मैत्री बनाउनुपर्ने उनीहरुको जोड छ ।
संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकार मैत्री बनाउन दबाब सिर्जना गर्नुपर्ने उनीहरुको तर्क छ ।
वुटवलमा आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुने गरि संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बताउनुभयो ।
उहाँले संसदमा हालै प्रस्तुत संसोधन विधेयकमा संसोधन गरि मानव अधिकार मैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थापक सभापति पहाडीले माओवादीको हिंसात्मक जनयुद्ध शुरु भएको दिनलाई “जनयुद्ध दिवस” भनि राष्ट्रिय दिवसका रुपमा लाद्नु मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको सर्वकालिन मान्यता विपरित भएको उल्लेख गर्नुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघीय मिसन “अनमिन”ले नै बाल सैन्य भनि प्रमाणित गरेका र अयोग्य घोषित गरेकाहरुलाई करोडौ रुपैँया आर्थिक सहयोग गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाउनुभयो । पहाडीले नेपालको राजनीति आकाशमा बादलभित्र हराएको एयर जस्तो भएको टीप्पणी गर्नुभयो । संबिधानसभा सदस्य भरत शाहले प्रधानमन्त्री प्रचण्डकै पहलमा संक्रमणकालीन न्यायलाइ टुंगोमा पुर्याउनुपर्ने बताउनुभयो ।
शाहले यो सबैको एजेण्डा र चासोको बिषय भएकाले दुबैपक्षले सर्तकतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो । रुपन्देही शाखा सभापति कृष्ण भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले दण्डहीनताको अन्त्य तथा हिंसाको खारेजीका लागि केन्द्रित रही शान्ति समाजको अभियान निरन्तर रहेको बताउनुभयो ।
एकीकृत नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले युद्ध क्रान्ति बिना परिवर्तन नभएको भन्दै टिआरसि अल्झाउनु हुदैन,दुबै पक्षको बिजयी भएको अनुभुति भएको हुनुपर्ने बताउनुभयो ।
यो बेला तित्तता गर्ने बेला नभएको उहाँको भनाइ छ ।सो अबसरमा नेकपा केन्द्रीय सदस्य शरद वलीले जनयुद्ध युगान्तकारी कदम भएको र जनयुद्धको अबमुल्यन नगर्न आग्रह गर्नुभयो । सो अबसरमा नेपाली कांग्रेस प्रदेश सभा सदस्य जमुना ढकालले कांग्रेसकै पहलमा नेपालमा शान्ति प्रकृया शुरु भएको स्मरण गर्नुभयो ।
सो अबसरमा नेपाली कांग्रेस रूपन्देही सभापति रामकृष्ण खांण,राससका पुर्व अध्यक्ष बालकृष्ण चापागाईं, नेकपा एमाले नगर अध्यक्ष किशन ज्ञवाली,समाजका उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे लगायतले बाेल्नुभएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य फुलु सुनारले संस्थाको अवधारणा पत्र पढेर सुनाउनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा शान्ति समाजद्वारा तयार गरिएको ६ पृष्ठको अवधारणापत्र प्रस्तुत गरिएको थियो ।
अवधारणापत्रमा लोकतन्त्र र शान्तिका खातिर १० बुँदे सुझाव शिघ्र अवलम्वन गर्न सरकार, प्रमुख राजनीति दलहरु लगायत सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)