बुटवल,चैत ८ ।
५८ औं जाती तथा रंगभेद उन्मूलन दिवस २१ मार्चको अवसरमा रुपन्देहीको सियारीमा पनि दलित समुदायका लागि कानुनी सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । तराई दलित सरोकार केन्द्र रुपन्देहीको आयोजना तथा सियारी गाउँपालिकाको सहयोगमा मंगलबार वडा न. ३ मा कार्यक्रम गरिएको हो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले दलित समुदायको हक अधिकार स्थापित गर्नका लागि गाउँपालिका अग्रसर रहेको बताउनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथि तारा थारुले दलित समुदायका लागि आरक्षण आवश्यक रहेको बताउनुभयो । तराई दलित सरोकार केन्द्र रुपन्देहीका अध्यक्ष बुद्धिराम हरिजनले तराईका दलित समुदाय जातीय विभेदसँगै गरिबि र आर्थिक विभेदबाट पनि समस्यामा रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ शर्माले संविधानमा भएको अधिकार कार्यान्वयन गर्नका लागि समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य सूर्य नारायण यादव, सियारी गाउँपालिकाका वडा न। ३ का वडाअध्यक्ष रामचन्द्र कुर्मी, दलित वडा सदस्य सुभावती हरिजन, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपवाध्यक्ष विनोद परियार, दलित सेवा संघका सचिव अमरजीत हरिजन लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सियारी गाउँपालिकाका ७ वटै वडाका मानिसहरुको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)