बुटवल,फागुन २७ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ।
शनिबार उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ।आज बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन्।
चितवनको रामपुर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका लागि सभापतिमा नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाई सभापति आशिष देवकोटाले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तैगरि अखिल र र अखिल क्रान्तिकारीका साझा उम्मेदवार दिवस पौडेलले पनि उम्मेदवारी दिएका हुन् ।
नेबिसंघबाट स्ववियु निर्वाचनमा सभापतिमा आशिष देवकोटा,सचिवमा विवेक अर्याल,कोषाध्यमा समिक्षा बस्नेत,सदस्यहरुमा गोकुल प्रसाद शर्मा, दिक्षा अधिकारी,सन्देश बोहरा,वर्षा सुवेदी,मुना पोख्रेल ७ सदस्य सहित १५ सदस्यीय टोलिले मनोनयन दर्ता गराएको छ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन्। निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन्।
निर्वाचनका लागि वार्षिक परीक्षाअन्तर्गत कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेष्टरतर्फ एक हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो। त्रिविले यसअघि पटकपटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी सङ्गठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन। प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन।
विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो। निर्देशनालयका निर्देशक अधिकारीले आज मनोनयन पत्र दर्ता गराएका प्रत्यक्षतर्फका उम्मेदवारको नाम नामावली आजै प्रकाशन गरिएको बताउनुभयो। उहाँका अनुसार उपत्यकाको त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छैन।
उम्मेदवारको नामावली उपर दाबी विरोध भोलि फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ।
निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)