काठमाडाैँ,फागुन २७ ।
सङ्घीय गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ ।
फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष कुन लिङ्ग वा समुदायबाट उम्मेदवारी दिनुपर्ने अन्योलका बीच उपराष्ट्रपति पदको मनोनयन दर्ता हुँदै छ ।
निर्वाचन आयोगले प्रकाशन गरेको तालिकाबमोजिम शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिङ्गका व्यक्तिको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।
आयोग स्रोतका अनुसार निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएको उम्मेदवारबारे उजुरी परेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा त्यसबारे निर्णय गर्नेछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १३ मा राष्ट्रपति वा उपराष्ट्रपतिका लागि उम्मेदवारीको मनोनयन दर्ता भएको तर निर्वाचन परिणाम घोषणा नभएको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने कसैलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतमार्फत आयोगसमक्ष उजुरी दिन सकिने उल्लेख छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । मतदाता भने सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मात्रै छन् । निर्वाचन कार्यक्रमअनुसार शनिबार नै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको सूची प्रकाशन गर्नेछ । उम्मेदवारको सूची दिउँसो २ देखि ३ बजेभित्र प्रकाशन हुनेछ । शनिबार नै ३ बजेपछि उम्मेदवारविरुद्ध उजुरी दिन पाउने समयसीमा तोकिएको छ । यसैबीच जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका नेता बीपी साहले जानकारी दिनुभयो । नेतृ झा सो पार्टीको सप्तरी जिल्ला इन्चार्ज हुनुहुन्छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिको उम्मेदवारमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)