बुटवल,फागुन १३ ।
रुपन्देहीका सबै स्थानीय तहले आफ्ना साझा समस्या पहिचान गरेर समाधानको सामुहिक प्रयास थालेका छन् । जिल्लामा १६ वटा स्थानीय तह छन् । साझा समस्या पहिचान र समाधानका लागि सबै पालिकाका प्रमुख-उपप्रमुख , अध्यक्ष-उपाध्यक्षहरु हरेक महिनामा घुम्टी बैठक बसी सामुहिक समस्याका बारेमा निकास निकाल्न छलफल गर्न थालेका हुन् ।
जिल्लाका सबैजसो पालिकामा छाडा चौपाया (गाइ,गोरु) को उचित ब्यबस्थापन नै टाउको दुखाईको बिषय बनेको हो । जिल्लाका सबै स्थानीय तह र जिल्ला समन्वय समितिबिच तिलोत्तमा नगरपालिकामा भएको घुम्ति बैठकमा बोल्ने जनप्रतिनिधिहरुले छाडा चौपायाको ब्यवस्थापन मुख्य चुनौती रहेको धारणा राख्नुभयो ।
१६ वटै स्थानीय तहको संयुक्त प्रयासबाट मात्र छाडा चौपायाँ ब्यवस्थापन गर्न सकिने बैठकले निष्कर्ष निकालेको छ । खुल्ला सीमा र दुध दिन छाडेपछि सडकमा गाई छाड्ने प्रवृत्तिले गर्दा छाडा चौपायाँ बढ्दै गएको हो । सडकमा छाडिएका चौपायाले सडक दुर्घटनादेखि कृषकको बालिनालीमा समेत क्षति पुर्याउने गरेका छन् ।
तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले छाडा चौपाँयाको ब्यवस्थापनको लागि भन्दै नगरमा २ वटा गौशाला सञ्चालन गरिएपनि अझैं पूर्णरुपमा नियन्त्रण हुन नसकेको बताउनुभयो ।
नगरले सञ्चालन गरेको गौशालामा अहिले ३३५ वटा गाईगोरु रहेको र पालनपोषणको लागि एउटा गाईलाई वार्षिक १ लाख खर्च हुने गरेको उहाको भनाइ छ । सडकमा भेटिएका छाडा चौपायालाई गौशालामा लगिएपनि नियन्त्रणमा आउन नसकेको खाँणको भनाइ छ । अन्तरपालिकाको समन्वयन बढाउँदै ब्यवस्थापन गर्न आवश्यकता रहेको उहाँले बताउनु भयो ।
प्रमुख खाँणले भन्नुभयो –‘हाम्रो पालिका बुटवल भैरहवाको बिचमा छ,हामीले फोहोर हटाएपछि ,बुटवलबाट तिनाउ नदीमा फालिएको फोहोर तिलोत्तमाका घरघरमा आएको छ,छाडा चौपाया पनि जति नियन्त्रण गरियो त्यति नै बढेको पाइन्छ,हामीले हटाउदै जाने छिमेकी पालिकाबाट यतातिर फोहोर,छाडा चौपाया आउने गरेको छ,यसले हामीलाइ झन् समस्या निम्त्याएको छ ।’
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले गाईगोरुलाई सडकमा छाडा छोड्नेहरुलाई गाउँपालिकाले कारबाही गर्न सुरु गरेको बताउनुभयो । अध्यक्ष घिमिरेले भन्नुभयो –‘गाईगोरुलाई सडकमा ल्याएर छोडेको थाहा पाए नगद १० हजार जरिवाना तिराउँदै आएको छौँ ,अहिलेसम्म ३ जनालाइ कारबाही गरेका छौँ ,रातीको समयमा ल्याएर छाड्ने गरेको समेत पाएपछि हामी सचेत छौं,सुचना दिनेलाइ समेत ५ हजार पुरस्कार दिएका छौँ ।’
छाडा चौपाया ब्यवस्थापनको लागि गाउँपालिकाले गौशाला सञ्चालन गरेपनि नियन्त्रणमा आउन नसकेको उहाँको गुनासो छ ।
५ विघा जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गरेर दाना पानीको ब्यवस्थापन सहित एक सय वटा छाडा चौपायाँको ब्यवस्थापन गरेको जानकारी दिनुभयो । एउटा पालिकाले मात्र गौशाला सञ्चालन गरेर छाडा चौपायाँ नियन्त्रणमा आउन नसक्ने र सबै पालिकाको समन्वयनको खाचो रहेको घिमिरेको भनाइ छ ।
सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले छाडा चौपाँया ब्यवस्थापनको लागि कञ्चन गाउँपालिका , गैडहवा गाउँपालिका र सैनामैना नगरपालिका संयुक्त रुपमा मिलेर ब्यवस्थापनमा लागेको जानकारी दिनुभयो । गाईको दुध दिन छाडे पछि सडकमा छोड्नेहरुलाई कारबाही गर्दै नियन्त्रण गर्ने योजना बनाइएको बताउनुभयो ।
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले छाडा चौपायासँगै निल गाईले गर्दा कृषकको बालीमा क्षति पुगेको जानकारी दिनुभयो । उता सिद्धार्थनगर नगरपालिकाका प्रमख ईश्तियाक अहमद खानले खुल्ला सीमाका कारण पनि छाडा चौपायाँ बढ्दै गएको बताउनुभयो । उहाँले आफुहरुले गरेको पहलमा नकारात्मक प्रचार गरिएको भन्दै गुनासो गर्नुभयो ।
उहाँले यतिबेला छाडा कुकुरको पनि नगरमा समस्या देखिएको उहाँले बताउँदै नियन्त्रणको लागि बन्धाकरण सुरु गरेको बताउनुहुन्छ । गोरखापत्रसंग कुरा गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छिमेकी तीन जिल्लासंग संयुक्त रुपमा मिलेर योजना बनाए मात्र छाडा चौपाँया नियन्त्रण गर्न सकिने बताउनुभयो ।
प्रदेश सरकारले सबै पालिकाहरुसँग समन्वयनकारी भूमिका खेल्दै जग्गाको ब्यवस्थापन गर्न सके छाडा चौपाया ब्यवस्थापन हुन सक्ने उहाँको भनाई छ । चौपायालाई आवश्यक पर्ने दाना , पानी र चरण क्षेत्रसहितको जग्गा खोजेर ब्यवस्थापन गर्नको लागि प्रदेश सरकारले समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । देवदहका प्रमुख धु्रव खरेलले माबितहमा एकैसमयमा पठनपाठन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । सिद्धार्थनगर नगरपालिकाका उपप्रमख उमा अधिकारीले छलफल र बहस भन्दा ठोस काममा लाग्नुपर्ने बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले पालिकाहरुका बिचमा समन्वयनकारी भूमिका खेल्दै समस्याहरुको समाधान गर्न आवश्यक रहेको बताउनुभयो । आवश्यक कानून निर्माणमा जोड दिँदै उहाँले बजार अनुगमन र बिपद ब्यवस्थापन,फोहोर ब्यबस्थापन,छाडा चौपाया ब्यबस्थापन,ढुंगा गिट्टी बालुवाको ठेक्का लगायतका एजेण्डाहरुमा समाधानमा लाग्न सबै पालिकालाइ आग्रह गर्नुभयो ।
उहाँले शान्तिसुरक्षाको उचित प्रबन्ध गर्ने समेत उल्लेख गर्नुभयो ।जिल्ला समन्वयन समितिका रुपन्देहीका सभापति उमाकान्त चपाईले जिल्लाका स्थानीय तहले कानुन बनाएर काम कारबाही अघि बढाउनुपर्ने बताउनुभयो । सो अवसरमा सबै पालिकाहरुको समन्वयनकारी भूमिका रहेमा मात्र काम गर्न सहज हुने बताउनुभयो ।
उहाँले खानेपानी संस्था दर्ता,छाडा चौपाया ब्यबस्थापन,ढुंगा गिट्टी बालुवाको ठेक्का लगायतका एजेण्डामा सामुहिक छलफलसहितको निश्कर्षले कार्यान्वयनमा सहजता ल्याउने उल्लेख गर्नुभयो ।
चपाईले अब नयाँ शैक्षिकसत्रबाट रुपन्देहीमा माबि तहको कक्षा ११ र १२ को कक्षा दिउसोको समयमा मात्रै संचालन हुने गरि निर्णय गरिएको समेत जानकारी दिनुभयो । जिल्लाको कुन पालिकामा कति छाडा चौपाया छन् भन्ने तथ्यांक नहुँदा यो समस्या समाधानमा समस्या उत्पन्न भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)