बुटवल, फागुन १२ ।
रुपन्देहीको देवदहमा स्थापित देवदह इङलिस माध्यमिक विद्यालय पिपलडाँडाले आफ्नो २७ औं वार्षिकोत्सव तथा रजत महोत्सव शुक्रबार मुल कार्यक्रम गरेर मनाएको छ ।
विद्यालयले स्थापनाकालदेखि विद्यालयसँग जोडिएका शैक्षिक ब्यक्तित्व, समाजसेवी, पुर्व विद्यार्थी तथा वर्तमान उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेर रजत महोत्सव मनाएको हो । विद्यालयले नगर स्तरीय सरसफाई, निःशुल्क स्वास्थ्य शिविर, नगर स्तरीय विभिन्न खेलकुद तथा पुरस्कार वितरण लगायतका सप्ताहब्यापि कार्यक्रम गरेर रजत महोत्सव मनाएको विद्यालयका संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय शिक्षासँगै, सीप मुलक, विद्यार्थीमा आचरण सहितको संस्कारयुक्त शिक्षण सिकाईलाई जोड दिदै विद्यालयमा नयाँ कार्यक्रमको सुरुवात गरिने बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विद्यालयमा विद्यार्थीको उल्लेखनीय सहभागिता गराउनका लागि प्रदेशले नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।
विद्यालयका विभिन्न बार्षिक तथा रचनात्मक कार्यक्रममा विद्यार्थीसँगै अभिभावकको उपस्थिती कम भएको उल्लेख गर्दै उहाँले कक्षामा विद्यार्थी र कार्यक्रममा अभिभावकको संख्या बढाउन नयाँ कार्यक्रम आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले प्रदेको शैक्षिक विकासका लागि कुरा र पहुँच वृद्धि गर्नुभन्दा शैक्षिक विकासकै कार्यक्रम ल्याउने गरि काम गर्ने स्पष्ट पार्नुभयो ।
विद्यालयका बरिष्ट सहप्राचार्य मनबहादुर क्षेत्रीको संचालनमा भएको कार्यक्रममा प्रदेश सांसद आशिष कुमार चौधरी, जानकी न्यौपाने, निर्मला चौधरी, सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार राजु गुरुङ्ग, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेशनल प्याब्सनका प्रदेश उपाध्यक्ष होमनाथ ढुङ्गाना, रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्याल, एभरेष्ट मावि बुटवलका प्राचार्य कृष्ण न्यौपाने, महामाया भवानीका प्राचार्य ऋषिश्वर अर्याल, पल्लवी साकोसका प्रमोद खनाल, नमुना बोर्डिङ स्कुलका प्रिन्सिल कमल पौडेल लगायतले रजत महोत्सवले शैक्षिक विकास र सीपमुलक शिक्षा प्राप्त जनशक्ति उत्पादनमा देवदहले नवितम कार्यक्रमको शुरुवात गर्नु पर्नेमा जोड दिदै बधाई तथा शुभकामना दिनुभयो ।
सो अवसरमा २०७५, ७६ र ७७ सालको एसइईमा फोर जिपीए अंक ल्याउने आधा दर्जन विद्यार्थीलाई गोल्ड मेडलले सम्मान गरिएको विद्यालयको ब्यवस्थापन संयोजक सुजता लामिछाने पौडेलले जानकारी दिनुभयो ।
विद्यालयले सो अवसरमा देवदह दर्पण नामक स्मारिका विमोचन समेत गरेको थियो ।
देवकोटालाई उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार :
कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार झविन्द्र देवकोटालाई उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने पुर्व, वर्तमान शिक्षक कर्मचारी, अभिभावक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयका बरिष्ट लेखा अधिकृत माधव आचार्यले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)