बुटवल,फागुन १२ ।
बुटवलमा ४१ औं मगर संघ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । नेपाल मगर संघ बुटवलले फागुन १५ गते स्थापना दिवसलाई महामेला र पर्वको रुपमा मनाउँने तयारी गरेको हो ।
सघंले आफ्नै कार्यालय सुख्खानगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्र्दै मगर संघ दिवसको अवसरमा बुटवलमा रहेका मगर समुदायलाई एकिकृत गर्दै रचनात्मक कार्यहरु सहित मनाउने निर्णय गरेको जानकारी दिएको हो ।
नेपाल मगर संघ बुटवल समितिका अध्यक्ष बसन्ती साठीघरे मगरले दिवसको पुर्वअवसरमा फागुन १३ गते बुटवल १५ उजेलापुरमा रहेको अपाङ्ग आश्रममा फलफूल तथा खाद्यान्न वितरण गर्ने र फागुन १५ गते बुटवल ७ दीपनगरमा रहेको पितृ बाजीबज्या थानमा मुख्य कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो । फागुन १५ गते सोममबारको दिन लखना चोक चौराहा , मिलनचोक , नयाँबसपार्क , भुड्की चोक , हिलपार्क हुँदै बाजीबज्या थानसम्म मगर भेषभुषा झाँकी सहित बृहत्त र्यालीको आयोजना हुने उहाँले बताउनु भयो ।
दिवसको अवसरमा मगर समुदायको सोरठी, कौडा, सालैजो, घातु नाचको विशेष प्रस्तुत रहने साठीघरेले जानकारी दिनुभयो । मगर संघ स्थापना दिवस दिवसको रुपमा मात्रै नभई मगर समुदायको महामेला र छुट्टै पर्वको रुपमा विकास भईरहेको संघले जनाएको छ । यस्तै फागुन १५ लाई सार्वजनिक विदा दिँदै हरेक समुदायको सांस्कृतिक र मौलिक पर्वमा सार्वजनिक बिदाको ब्यवस्था गर्न माग मगर संघले राखेको छ ।
मगर समुदायको आफ्नै मौलिक भाषा ( खाम, काइके,ढुट) लिपि, धर्म, संस्कार , संस्कृति, रितरिवाज हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण पछाडि पर्नु परेको गुनाशो संघले पोखेको छ । संघका प्रदेश सदस्य गोपाल बहादुर चौहानले रुपन्देही जिल्लामा करिब ११ हजार भन्दा बढि मगर समुदायले मगर भाषा बोल्ने गरेको जानकारी दिनुभयो । उता मगर संघ देवदहले पनि एकता दिवस मनाउने भएको छ ।
शुक्रबार देवदहमा पत्रकार सम्मेलन गर्दै मगर संघ देवदह नगर समितिले विविध कार्यक्रम गरि मगर दिवस मनाउने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघकी नगर अध्यक्ष शोभा कुमारी थापाले मगर संघ मगरहरुको साझा सामाजिक संस्था भएको र मगरहरुलाई एकतावद्ध गर्दै भाषा, संस्कार, संस्कृति संरक्षण र सम्वर्द्धन गर्दै आइरहेको बताइन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)