बुटवल,फागुन ९ ।
सञ्चारकर्मी माेहन बस्नेत ‘वेष्ट युट्युब च्यानल अफ द इयर’ बाट सम्मानित भएका छन् । ड्रिम हाई नेपालद्वारा काठमाडौमा आयोजित दोस्रो एलआईसी मिडिया अवार्ड अन्तर्गत यस बर्ष उत्कृष्ट युट्युव संचालकको रुपमा बस्नेत सम्मानित भएका हुन् ।
बस्नेतलाई प्रमुख अतिथि बरिष्ठ पत्रकार भैरव रिसालले नगद २५ हजार सहित अवार्ड प्रदान गरे । बस्नेतले विगत सात बर्षदेखि ‘नेपाल अपडेट’ युट्युब च्यानल संचालन गर्दै आएका छन् ।
बस्नेतको सामाजिक कार्यको मुल्याकंन गर्दै ०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवा पञ्चम श्रेणी’द्धारा विभूषित गरेकी थिइन् । त्यसका साथै गत साउन १४ गते ‘नेशनल आर्टिष्ट सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् ।
वि.स.०५२ सालमा गुल्मीको रेसुङ्गा –३ भाडगाउँमा जन्मिएका बस्नेतले ०७२ सालमा रेसुङ्गा टेलिभिजनबाट पत्रकारिता सुरु गरेको नागरिक अनलाइनलाई बताए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)