बुटवल,फागुन ८ ।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर यादवले पद तथा गोपनियताको सपथ लिनुभएको छ । अहिरलाई प्रदेश प्रमुख अमिक कुमार शेचनले सोमबार बुटवलमा सपथ ग्रहण गराउनु भएको हो ।
अहिरलाई मुख्यमन्त्री लिला गिरीको सिफारिशमा प्रदेश प्रमुखले आइतबार मन्त्रीमा नियुक्त गर्नुभएको थियो । सरकारलाई समर्थन गरेको जसपा यसअघि सरकारमा सहभागी भएको थिएन । बांकेका अहिर जनता समाजवादी पार्टी संसदीय दलका नेता समेत हुनुहुन्छ । सपथ ग्रहण पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त अहिले केन्द्रीय सहमती अनुसार नै सरकारमा गएको जानकारी दिनुभयो ।
यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ । मन्त्री शर्मा भने सपथ ग्रहण समारोहमा उपस्थित हुनुभएन । अहिरको नियुक्तिसंगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)