बुटवल, फागुन ७ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसारको राष्ट्रिय नीति नबनेको बताउनुभएको छ ।।उहांले समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सीमानाको समस्या भोग्नु परेको बताउनुभयो ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आईतबार बुटवलमा सम्पन्न १६ औं वार्षिक साधारण सभामा बोल्दै नीति नहुंदा थिति नबसेको हो भन्नुभयो । उहांले नीति तथा कानुन बनाउन नागरिकस्तरबाट तिनै तहका सरकारलाई दवाव दिनुपर्नेमा जोड दिनुभयो ।
कमजोर खालको नीति तथा कानुन भएकाले खुल्ला सीमानाले सबै क्षेत्रका साना ठूला व्यवसायी र आमनागरिकले ठूलो सास्या भोग्नु परेको बताउनुभयो । उहांले लुम्बिनी प्रदेशमा निम्न वर्गको हितमा कानुन बनाउने प्रतिवद्वता जनाउंदै विकास माग्न भन्दा देशलाई चाहिने खालको कानुन माग्न आग्रह गर्नुभयो ।
साना व्यवसायीलाई संरक्षण गर्ने गरी स्थानीय तहले ऐन बनाउनु पर्नेमा जोड दिनुभयो ।बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा घरधनी र व्यवसायीवीच भएको सम्झौताबारे यथार्त कुरा बाहिर नआउंदा समस्या आएको बताउनुभयो । व्यवसायीका समस्या पहिचान गरी समाधान गरिने आश्वासन दिनुभयो ।
खुल्ला सीमानाले साना व्यवसायी प्रत्यक्ष मारमा परेको खुद्रा किराना व्यवसायी संघका सल्लाहाकार कृष्णप्रसाद पाण्डेले बताउनुभयो । खुल्ला सीमानाका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको र अबैध व्यापार बढेको बताउनुभयो ।खुल्ला सीमाना नियन्त्रण गरी बैंकको महङो व्याज र मनोमानी बढाईएको घरभाडा घटाउन सरकारसंग खुद्रा किराना व्यवसायीको माग छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हकिकुल्ला खां, एमालेका खेम लुइटेल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, संघका पूर्व अध्यक्ष कमला गौतम, टिकाराम गैरे, ज्ञानप्रसाद न्यौपाने, पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोल्नुभएको थियो ।
संघका अध्यक्ष मोहनप्रसाद बस्याल र महासचिव गोपाल प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)