बुटवल,माघ २९ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियक्त मन्त्रीलाई शपथ गराउनुभएको हो ।
आइतबार १ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको भए पनि हावाहुरीले प्रदेशसभा परिसरमा टाँगिएको त्रिपाल उडाएपछि केहीबेर ढिलो भएको थियो । आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले शपथ लिनुभएको हो ।
लुम्बिनीमा ठीक एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिइएको पाएको छ । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री लीला गिरीले माघ २८ मा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
यसअघि विना विभागीय रहेका दुई जना मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित पाँच, माओवादीबाट ३ र अन्य साना दलबाट एक–एक जनागरी १० जनाको मन्त्रिमण्डल विस्तार गरिएको हो । सत्ता साझेदार दलको बैठकले मन्त्रालय टुङ्गो लागेसँगै मन्त्रीहरुको नाम दलको बैठकबाट निर्णय गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)