बुटवल, माघ १५ ।
रुपन्देहीमा पहिलो पटक ‘वाटर एटिएम’ संचालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा न १३ मा रहेको वडा कार्यालय परिषरमा (यातायात लाइसेन्स र ब्लुबुक कार्यालय छेउमा ) ‘वाटर एटिएम’ शुभारम्भ गरिएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिबन काटेर पानी पिएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
‘वाटर एटिएम’बाट पानी पिउनका लागि प्रतिलिटर पाँच रुपैयाँ लाग्ने छ, एटिएममा पाँच रुपैँयाको क्वाइन ( सिक्का ) वा एटिएम कार्ड प्रयोग गरेर पानी सहजै उपलब्ध हुनेछ । यो सेवाले एक वोतल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउने अपेक्षा गरिएको छ ।
सो अवसरमा बोल्दै बुटवल नगर प्रमुख पाण्डेयले बुटवल वडा न १२ र १३ नयाँ शहरका रुपमा बिकास भैरहेको बताउनुभयो । ‘वाटर एटिएम’को शुभारम्भले यहाँ सेवा लिन आउने सेवाग्राहीका साथै यसक्षेत्रमा नागरिक प्रत्यक्ष लाभान्भित हुने बताउनुभयो । उहाँले सस्तो मुल्यमा शद्ध, गुणस्तरिय खानेपानीमा आम जनताको पहुँच स्थापित गराउन सधैँ सकारात्मक पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यहाँको रूप बदलिँदो छ,नयाँ शहर बन्दै छ बुटवल नयाँगाउँ ,बजारीकरण भैसक्यो ,अब कृषिक्षेत्रभन्दा बजार बढ्यो,यहाँ लाइसेन्स,यातायात,नापी ,विश्वबिद्यालय,ट्रान्सपोर्ट भिलेज बनेको छ यसले यहाँको बिकास तीब्र गतीमा अगाडि बढेको छ ।’
प्रमुख पाण्डेयले अब यसप्रकारको प्रबिधिलाइ बुटवलका अस्पताल,बसपार्कहरुमा समेत राख्नका लागि योजना बनाउने बताउनुभयो ।करिब १४ लाख ४६ हजार बराबरको लागतमा सो मेसिन जडान गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय योगिकुटीका कार्यालय प्रमुख गुणनिधि पोखरेलले बताउनुभयो ।
उहाँले रुपन्देहीको तिलोत्तमा भलवारीमा पनि यसप्रकारको मेसिन जडान गर्ने तयारी गरिएको उल्लेख गर्नुभयो । ‘जडान ठूलो कुरा होइन,यसको ब्यबस्थापन जरुरी छ । ’ उहाँले भन्नुभयो ।
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ का अध्यक्ष रमा केसीले रुपन्देहीको इतिहासमै आफुहरुले नयाँ काम गरेको बताउनुभयो । केसीले ‘वाटर एटिएम’ को संरक्षण सम्बद्र्धन गर्ने र दीगो ब्यबस्थापन आफुहरुले गर्ने बताउनुभयो ।
बुटवल १३ वडाध्यक्ष नारायण पुनले वडा कार्यालय गेट छेउमा जडान गरिएको ‘वाटर एटिएम’लाइ सहि ब्यबस्थापन गरेर संरक्षण गरिने प्रतिबद्धता जनाउनुभयो । सो मेसिन राख्नका लागि स्थान भने बुटवल १३ वडा कार्यालयले दिएको हो ।
कार्यक्रममा बुटवल वडा न १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य , खानेपानीका पूर्व अध्यक्ष लक्ष्मण कडेल,उपाध्यक्ष मिना जिसि, सचिव ओम भट्टराई लगायतले बोल्दै रुपन्देहीमा सफल आयोजनाका रुपमा यसलाइ प्रयोगमा ल्याइने धारणा राख्नुभयो ।
वाटर एटीएमको प्रयोग र पानी कसरी सार्ने, सिक्का कसरी राख्ने भन्ने सबैलाइ सिकाउन जरुरी रहेको स्थानीय तुलसीराम भण्डारीको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)