बुटवल,माघ ३ ।
बुटवलबाट हातहतियार र विस्फोटक पदार्थसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कन्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की छन् ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले पक्राउ परेकाहरुबाट रिभल्वर थान १, मोबाइल थान–३, ९ एमएमको गोली १४ राउण्ड, ७.६२ एमएमको गोली ४ राउण्ड, ०.२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायतका सामग्री बरामद गरेको जानकारी दिनुभयो ।
प्रहरीले मङ्गलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको हो । डिएसपी थापाले बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई बुटवल–११ देवीनगरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
उनीहरुलाई हातहतियार तथा विस्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इप्रका बुटवलले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)