Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय

स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय

  • 1.7K
    SHARES

  • स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय

    काठमाडौँ,  पुस २२ ।

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।

    आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा.डा .पेशल दाहालले जानकारी दिनुभयो ।     

     उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । उहाँले विद्यार्थी कल्याण परिषद्ले सिफारिस गरेअनुसार नै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बताउनुभयो ।     

     सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेसँगै आफू अब स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो ।     

    त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्ष छलफल गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक पटक पहल गरे पनि हुन सकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई र दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन नसकेको हो ।     

     विसं २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशैभरी त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

    यस्तै, उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचन २८ वर्ष उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology