बुटवल,पुस ११ ।
प्रहरी अनुसन्धान टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको टोलीले आइतबार साँझ निवासबाटै नियन्त्रणमा लिएको हो ।
सुन कारोबारसम्बन्धी मुद्दामा व्यापारीसँग रकम असुली गरेको विषयमा विवादमा मुछिएका केसीलाई अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा समेत खानतलासी गरेको थियो । खानतलासीबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ ।
नगद र सुनसहित फेला परेका केसीलाई आइतबार साँझदेखि नै सुरक्षा नियन्त्रणमा राखिएको छ । मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीले रकम असुलीबारेको अनुसन्धानमा राष्ट्रिय अनुसन्धान विभागको टोलीले सुरक्षा निगरानीमा राखेको बताए । ‘केही अनुसन्धान गर्नुपर्ने विषय भएकाले सुरक्षा निगरानीमा राखिएको हो । दिउँसो सीबीआई टोलीसँग भेटेपछि थप कुरा प्रस्ट हुनेछ,’ उनले भने ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)