बुटवल,पुस ७ ।
गृहमन्त्री बालकृष्ण खाँणले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।अब बन्ने नयाँ सरकारले ब्याजदर वृद्धिलाई नियन्त्रणका लागि नीतिगत हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ ।
ब्याजदरको चरम वृद्धिले उद्योगी व्यवसायीहरु संकटमा परेको उल्लेख गर्नुभयो । गृहमन्त्री खाँणले बैंक तथा वित्तीय संस्थाहरुलाई गम्भिर बन्न आग्रह गर्नुभयो ।
‘बैंकको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरु मारमा परेका छन् ,यहि अवस्था रहेमा केह समयपछि झन ठूलो संकट वित्तीय क्षेत्रले भोग्नुपर्छ ,आर्थिक मन्दीमा बैंक तथा वित्तीय संस्थाहरु अझ बढी गम्भिर र संवेदनशील बनुन् । ’
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै खाँणले समस्या समाधानका लागि साझा अबधारणाकासाथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
‘उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्ने हाम्रो साझा दायित्व हो ,यसमा सबै मिलेर अघि बढ्नुपर्छ ।’ बुटवलको औद्योगिक प्रदर्शनीले उद्योगीहरुलाई नयाँ उर्जा प्रदान गरेको उहाँको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)