दाङ,मंसिर २-
दाङ तुलसीपुरस्थित रेडियो हाम्रो पहुँचमा कार्यरत प्राविधिक मनिसा लामिछानेको सवारी दूर्घटनामा परि मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीबाट तिहारको टीका लगाएर रेडियोको काममा आउँदै गरेकी २२ बर्षीया मनिसा सवार मोटरसाईकललाई स्कार्पियोले ठक्कर दिएको थियो ।तिहारको टिका पछि उनका दाजु २४ बर्षीय दाजु विराज लामिछाने बहिनीलाई रेडियो सम्म छोड्न मोटरसाईकलवाट आउँदै थिए ।
सोमवार दिउँसो साढे १२ बजेतिर तुलसीपुर ६ स्थित रेडियोको जाने चोकमै दाजु बहिनी सवार रा १ प ६७२१ नम्वरको मोटरसाईकलबाट लु अ.अ. क. ३९४६ नम्बरको स्कार्पियोले ठक्कर दिएको थियो ।दाजु बहिनी विजौरीबाट तुलसीपुर तर्फ आउँदै गरेका थिए भने स्कार्पियो पूर्व तर्फ जाँदै थियो ।
गम्भीर घाइते दुबै दाजु र बहिनीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा थप उपचारका लागि रिफर गरिएको थियो ।
उपचारको क्रममा मनिसाको बेलुका साढे ५ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।उनका दाजु विराजको कोहलपुरमा उपचार भइरहेको डिएसपी सिंहले बताए । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)