Logo बिहिवार, आश्विन १ गते २०८३
images

बैतडी जिप दुर्घटना : चार प्रहरीको मृत्यु,पहिचान खुल्यो

बैतडी जिप दुर्घटना : चार प्रहरीको मृत्यु,पहिचान खुल्यो

  • 1.2K
    SHARES

  • बैतडी जिप दुर्घटना  : चार प्रहरीको मृत्यु,पहिचान खुल्यो

    बैतडी, मङ्सिर ५ ।

    बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् ।

    मृत्यु हुनेमा प्रहरी सहायक हवलदार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मृत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । 

    दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवलदार गणेश खड्का, प्रहरी सहायक हवलदार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् । 

    घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताउनुभयो । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    उपचाररत  नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए । 

    जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर पाटन फर्कँदै गरेको प्रहरी टोली सवार जिप बिहान ७ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology