Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजनीतिक एजेण्डामा सम्झौता गरेका छैनौं : राजमाे कार्यकारी अध्यक्ष रश्मीराज नेपाली (अन्तर्वार्ता )

राजनीतिक एजेण्डामा सम्झौता गरेका छैनौं : राजमाे कार्यकारी अध्यक्ष रश्मीराज नेपाली (अन्तर्वार्ता )

  • 2.1K
    SHARES

  • राजनीतिक एजेण्डामा सम्झौता गरेका छैनौं : राजमाे कार्यकारी अध्यक्ष रश्मीराज नेपाली  (अन्तर्वार्ता )

    बुटवल ।

    रश्मीराज नेपाली, सत्ता गठबन्धनमा सामेल दलहरु मध्येको एक राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष हुनुहुन्छ । राष्ट्रिय जनमोर्चा यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा बाग्लुङ र प्यूठानमा १-१ तथा प्रदेशसभामा अर्घाखाचीमा १ सिट लिएर अन्य बाकि क्षेत्रमा उम्मेदवारी दिएको छैन । सो दलले समानुपातिकका लागि छुटै मत मागेर देशव्यापी प्रचारप्रसार गरेको छ । सो प्रचारप्रसारको नेतृत्व यीनै नेपालीले गरेका छन् ।

    नेपालीको जन्म १९९८ साल असार २१ गते प्यूठान उदयपुरको मर्कावाङ गाउंमा भएको हो । हाल लुम्बिनी प्रदेश राजधानी दाङको गडहवा गाउंपालिका वडा नंं. २  वडहरामा बस्दै आएका ८१ वर्षिय नेपालीले २०१९ सालमा नेकपाको सदस्यता लिएका पुराना नेताका रुपमा परिचित छन् ।

    पहिलो संविधानसभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट संविधानसभा सदस्यसमेत भएका नेपालीको अहिले पनि समानुपातिकमा पहिलो नम्बरमा नाम समावेश छ । २०२८ सालमा राजनीति गरेको आरोपमा विभिन्न मुद्दा लगाएपछि २०२९ सालदेखि शिक्षण पेशा छोडेर पार्टीको होलटाइमर कार्यकर्ता बनेका नेपालीलाई जिल्लामा माड्साव भनेर चिन्दछन् ।

    – राष्ट्रिय जनमोर्चाले के कस्ता एजेण्डा लिएर जनातसंग भोट माग्न गएको छ ?

    हामीसँग जनताको माझमा जानको लागि एजेण्डा र मुद्धाको कमी छैन । हामीले हिजोपनि जनताको सेवक भएर काम गरेका हौ । हामी आज पनि जनताका सेवक हौ र हामी भोली पनि जनताका सेवक बन्ने छौ । राजनीति भनेको सेवामूलक पेशा हो । हामीले राजनीतिलाई व्यवसाय र उद्योग बनाउने छैनौ । राजनीतिलाई व्यवसाय र उद्योग बनाउनेका बिरुद्व हाम्रो सम्झौताहिन संघर्ष जारी रहने छ ।
    चुनावको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । देशमा भ्रष्टाचार व्याप्त छ, जनताका जनजिवनका तमाम समस्याहरु छन्, राष्ट्रियताका विषय छन् र देश वचाउने कुरा कुरा छन् तिनलाई चुनावी मुद्दा बनाएका छौं । 
    हामीले गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौं संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ चुनावलाई उपयोग गरेका छौ ।rashmi.jpg

    – गठबन्धन गर्नुको मुख्य कारण के हो ? 

    देश प्रतिगमनतर्फ धकेलिएको कारण गणतन्त्र रक्षा धर्म निरपेक्षता रक्षाको लागि र अग्रगमनको लागि यो गठबन्धन आवश्यकता बन्यो । प्रतिगमनलाई परास्त नगरे सम्म देशको सविधानको रक्षा हुन नसक्ने अवस्था सिर्जना भयो । राजनिति अस्थीरताको कारणले विकासमा बाधा पुग्यो ।

    संविधानसभाबाट प्राप्त जनताका सिमित अधिकार रक्षा हुन नसक्ने अवस्था आएको र प्रतिगमनलाई परास्त गर्नको लागि पार्टी केन्द्रबाट नै गठबन्धन गरियो र हामीलाई पनि त्यो विषय ध्यान दिएर हामी पनि गठबन्धन गरेर अगाडि बढेका हौं । जितको लागि भन्दा पनि सविधानको रक्षा गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि गठबन्धन आवश्यकता बनेको हो । संविधानसभाको नारा हाम्रो पार्टी नै लगातार उठाउदै आएको हो अन्य दलहरुले त धेरै पछि मात्र हो । त्यसैले त्यसबाट प्राप्त अधिकार खोसिने खतरा बढेपछि गठबन्धन गरेका हौं । यो स्थायी गठबन्धन होइन भने बुझ्नु जरुरी छ ।

    – एमालेसंग एक्ला एक्लै प्रतिष्पर्धा गर्न डराएर पांच दलीय गठबन्धन बनाएको भन्ने आरोप छ त ?

    यो सरारस झुट हो । मैले यस अघि नै भनी सके पांच दलीय गठबन्धन प्रतिगमनका बिरुद्व हो । यो संविधान र गणतन्त्रको रक्षाका लागि हो । कसैसंग डराउने विषय छैन । नेपालको इतिहांसको खासखास मोडमा अग्रगामी शक्तीबीच कार्यगत एकता र गठबन्धन हुने गरेको छ । इतिहांसले प्रमाणित गरेको छ । 
    हामी पञ्चायतको अन्त्यका लागि २०४६ को जनआन्दोलनमा, २०६३।०६३ को जनआन्दोलन लगायतका विशेष अवस्थामा कांगे्रस कम्युनिष्ट एक भएर लडेको इतिहांस छ । राजनीति अध्ययन गरेमा बुझीन्छ ।

    – राष्ट्रिय जनमोर्चाले चुनावको तयारी कसरी गरेको छ ?

    हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा अहिलेको चुनावमा एउटा गठबन्धनमा छ । हामी गठबन्धन दलबीच सामूहिक कार्यक्रम बनाएर जनताको मन जित्ने गरी घरदैलोमा छौ भने पार्टीले एकल ढंगले चुनावी तयारी, प्रचारप्रसार र कार्यक्रमहरु पनि गर्दै आएको छ ।
    गठबन्धन दलहरुको बैठक बसेर कार्यक्रम बनेका छन् । पहिलो चरणमा आम मतदाता, नेता कार्यकर्तासंग भेटघाट सम्पन्न गर्दै देशव्यापी सभा, प्रशिक्षण सम्पन्न भईसकेका छन् । र हामीले दोस्रो चरणमा पनि अझै मसिनो गरि जनता माझमा जाने कार्यक्रम बनाएका छौ । साथिहरु दिनरात जनताको घरदैलोमा हुनुहुन्छ । मतदाता शिक्षाका लागि पनि साथिहरु मतदाता समक्ष पुग्नु भएको छ ।

    अर्कोतर्फ हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले एक कार्यक्रम बनाएर समानुपातिक तर्फका उम्मेदवारहरुलाई मत माग्न लागि बुटवलबाट यही गत कार्तिक १९ गतेदेखि प्रचार अभियान गरेका हौं । मेरै नेतृत्वमा शुरु भएको प्रचार अभियानले पहिलो चरणमा वागमती, लुम्विनी, गण्डकी र सुदुरपश्चिमका करिव ८० निर्वाचन क्षेत्रमा प्रचार प्रसारका कार्यक्रमहरु गरेको छ । राष्ट्रिय जनमोर्चाको पक्षमा जनता उत्साहित छन् । गिलास चिन्हमा भोट हाल्न र गठबन्धनप्रति जनता उत्साहित छन् । साथिहरु पार्टीको निर्देशनमा देशरभर चुनावी अभियानमा हुनुहुन्छ ।

    – तपाईहरुको पार्टी कांग्रेसको पछाडि हिड्यो भन्ने आरोप छ, के राष्ट्रिय जनमोर्चा कांगे्रसकै पछि लागेको हो त ?

    यो विषयमा मिडिया र मिडियाकर्मीहरुले बुझ्न र जनताले बुझ्ने गरी मिडियाकर्मीले लेख्न आवश्यक ठान्दछु मैले । राष्ट्रिय जनमोर्चा कांगे्रसको पछि लाग्यो भन्ने प्रतिगामी, बिरोधीहरुको झुठ्ठो आरोप हो । बिरोधी तथा प्रतिगामीहरु कहिल्यै पनि कम्युनिष्ट विचार बोकेका पार्टीप्रति सकारात्मक हुदैनन् ।

    राष्ट्रिय जनमोर्चाले ७० वर्ष लामो लडाई लडेर संविधानसभाबाट ल्याएको संविधान र गणतन्त्रको रक्षामा अडिक शक्तिसंग सहकार्य गरेको मात्र हो । अहिलेको गठबन्धन विचारको गठबन्धन नभएर चुनावी गठबन्धन हो भनेर बुझ्नु जरुरी छ । यो कुरा हामीले गठबन्धनका बैठकमा लिएका संघीयता, एमसीसी लगायतका मुद्दामा लिएको अडानहरुले नै प्रमाणित गरेका छन् ।

    यो पांच दलीय गठबन्धनमा कांगे्रस मात्र छैन । अग्रगमन चाहाने अन्य पार्टी पनि छन् । यो संविधानको कैयौ अन्तरवस्तुसंग हाम्रा बिमती छन् । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता स्वीकारको छैन । यो संविधान २०४७ को भन्दा प्रगतिशील भएकाले हामीले यो संविधानलाई फेल गराउन हुन्न । यसलाई रक्षा गरेर अगाडी बढेर सामान्य जनताका आधारभूत समस्या समाघान गर्दै जनताको शासन स्थापित गर्नु पर्दछ भन्ने मान्यता बोकेका छौं ।

    यो विचार व्यक्त गर्नुभन्दा अगाडि देशको वर्तमान परिस्थितीको बारेमा बुझ्यौं भने सही निश्कर्षमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ । सैद्धान्तिक रुपमा हामी फरक विचार राख्ने पार्टीका मान्छे हांै । तर केपी ओलीको  सरकारले २÷२ पटक संसद विघटन गरेपछि गणतन्त्र र धर्म निरपेक्षता नै खतरामा परेको कारण हामीले विशेष गरेर ५ दलले गठबन्धन गरेर संसद पुनस्थापनाको लागि सडकदेखि आवाज उठायौं र संसद पुनस्थापना भयो । 

    – राष्ट्रिय जनमोर्चा संघीयता विरोधी पार्टीको रुपमा परिचित छ । तर तपाईहरु फेरी संघीयता ठिक छ भन्ने दलहरुसंग चुनावमा हुनुहुन्छ ?

    नेपालको हकमा शुरुमा संघीयताको बिरोध गर्ने हाम्रो पार्टी मात्र हो । तर फेरी हामी संघीय प्रणालीकै बिरोधी भने होइनौ नेपालको हकमा संघीयता ठिक हुन्न र छैन भन्ने हो । हाम्रो जस्तो सानो मुलुकले आर्थिक रुपले संघीयता थेग्नै सक्दैन र संघीयता खारेज गर्नुपर्छ र विकेन्द्रिकरणको आधारमा स्थानीय तहलाई अधिकार सम्पन्न गराउनु पर्छ भन्ने हो ।
    पहिला हामी र हाम्रो पार्टी मात्र संघीयताको विपक्षमा थियो भने अहिले अन्य पार्टीहरुले निर्णय मात्र गर्न नसकेका हुन् । नपालको हकमा संघीयता आवश्यक होइन्छ भन्ने बुझि सकेका छन् ।

    हामीले आआफ्ना फरक मतहरुलाई थाती राखेर संसद विघटन र प्रतिगामी षडयन्त्रका बिरुद्व गठबन्धन बनाएका हौं । संघीयता बेठीक छ भन्ने हाम्रो विचार अहिले पनि कायम छ । हामीले जितेपछि पनि संघ र प्रदेशको रोष्टमबाट संघीयता खारेजीको लागि आवाज उठाँउछौ । संघीयता पूर्णरुपमा खारेज नहुंदासम्म सडक र सदनबाट हामी संघीयताको बिरोध गर्छौ र जनतलाई सचेत बनाउंछौ ।
     – गठबन्धनप्रति जनताको चासो कस्तो देख्नु भएको छ ?
    देश र विदेशमा रहनुभएका नेपाली गठबन्धनप्रति उत्सातिह हुनुहुन्छ । प्रतिगमनलाई जसरी पनि परास्त गर्नुपर्छ भन्ने जनताको चाहाना छ । जनताले प्रतिगामी शक्ति राप्रपा र भारतसंग मिलेर एमाले चुनाव लडेको छ भन्ने बुझेका छन् । त्यसका कारण यो चुनावमा गठबन्धनको जीत हुन्छ ।

    – तपाई यस पटकको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट समानुपातिक उम्मेदवार हुनुहुन्छ । उम्मेदवारी केका लागि ?
    मेरो उम्मेदवारी व्यक्तिगत नभएर पार्टीको हो । पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाए पछि मैले उम्मेदवारी दिएको हु । खासमा गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि मेरो उम्मेदवारी हो ।  
    अग्रगमनको पक्षमा प्रतिगमनका बिरुद्व र जनताको अहिलेको अवस्थामा परिवर्तन ल्याउनका लागि मेरो उम्मेदवारी हो । म पार्टी क्रान्ति, परिवर्तनका लागि जनताको पक्षमा उभिएकाले पार्टीले विश्वास गरेपछि उम्मेदवार बनेको हु ।

    – तपाईले चुनाव जित्ने वा जनताले तपाईलाई माननीय बनाउला त ?

    मलाई कसैले माननीय बनाउने नबनाउने भन्दा पनि मलाई पार्टीले विश्वास गरेर पहिलो नम्बरमा राख्नु नै ठूलो विषय हो । म माननीय बन्ने नबन्ने कुनै ठुलो कुरो होइन । यो निर्वाचन पनि हाम्रा लागि आन्दोलनको एउटा मोर्चा ठानेका छौं । मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको हैन । म २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको मान्छे हु । त्यसपछि पार्टी क्रान्ति र परिवर्तनका लागि निरन्तर लागेको छु । अधिकांस समय मैले जनताको घरदैलोमा दिन बिताएको छु ।
    देशभरका नेपाली र विदेशमा रहेका श्रमजिवी नेपालीसंग मेरो घनिष्ट सम्बन्ध छ । म जनताको साथमा छु । मलाइ जनताको भर र विश्वास छ । मैले अहिलेसम्म पार्टीमा र जनताप्रति कुनै अविश्वास हुने खालका काम गरेको पनि छैन । जसले गर्दा मेरो लगनशीलता विश्वास, पार्टीको म माथिको विश्वास छ, त्यसकारण मैले भन्दा पनि पार्टीले चुनाव जित्छ । पार्टीले चुनाव जिते पछि मेरो पनि जित अवश्य हुने छ र माननीय पनि बन्ने छु । 

    – एउटा व्यक्तिगत प्रश्न, तपाई अधिकारीको छोरा नामको पछाडी थर नेपाली लेखाउनुको खास कारण के होला ?
    मैले २०२१ सालसम्म थर अधिकारी नै लेख्थे २०२२ बाट नेपाली लेख्न थालेको हुन । नेपाली लेख्नुको खास कारण यस्तो छ ।
    म घर छोडेर पढ्न भनेर दाङ घोराहीको पद्योदय पव्लिक माध्यामिक विद्यालयमा पढ्थे र त्यहां मैले त्यो स्कुलमा पढ्ने र पढाउने गर्थे । त्यो स्कुल त्यसबेला आइएसम्म पढाई हुन्थ्यो । उक्त पद्मोदय पव्लिक माध्यामिक विद्यालयमा पढाउने हेडमास्टर भारतीय नागरिक थिए । अन्य केही शिक्षक पनि भारतीय थिए ।

    त्यसबेला हामीले स्कुलमा नेपाली नै हेडमास्टर हुनुपर्छ र शिक्षक पनि नेपाली हुनुपर्छ भने र आन्दोलन गरेका थियौ । त्यो आन्दोलनको अगुवाई मैले गरेको थिए ।
    हामीले २०१८ को अन्त्य तिरबाट भारतीय हेडमासटर र अन्य शिक्षकहरुलाई हटाएर नेपाली शिक्षक ल्याउनुपर्छ भन्ने माग राखेर आन्दोलन सुरु गरेका थियौं । त्यो आन्दोलन २०१९ सालदेखि २०२१ सालसम्म चल्यो । म त्यतीबेला पञ्चायतको बिरुद्वमा पनि शसक्त रुपमा लागेको थिए । भारतीय नागरिक हेडमास्टरलाई हटाउनु पर्छ भन्नेमा पनि आन्दोलन गरेको थिए ।
    आन्दोलन गरेको आरोपमा विद्यालयको  व्यवस्थापन र प्रशासनले मलाई स्कुलबाट निष्काशन गरेर मुद्वा लगाउने र पढ्न पनि नदिने भएपछि मैले अधिकारी थर बदलेर २०२२ सालबाट नेपाली लेखाउन शुरु गरेको हु । तत्कालिन पञ्चायती सरकारले मलाई मेरो वास्तविक नाममा नेपालमा अध्ययन गर्न रोक लगाएपछि भारतमा गएर रश्मीराज नेपाली भनेर नाम लेखाएर पढेको थिए । खासमा भन्नु पर्दा त्यस बेलाको व्यवस्था अथवा पञ्चायतको बिरुद्वमा खुलेर लाग्दा आफ्नो थर छोडेर नेपाली लेखाएको हु । मलाई नेपाली थर लेखाएकोमा पछुतो छैन । गौरव छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology