बुटवल,कार्तिक १८ ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनपछि नेकपा एकीकृत समाजवादी राजनीतिक भविश्य सकिने दावी गर्नुभएको छ ।
गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता विष्टले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरूसँग भन्नुभयो–‘नेकपा एसको राजनीतिक भविश्य छैन ।
पार्टीबाट देशभर एमालेमा फर्किने क्रम निरन्तर बढदै गएको छ । खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ ।’‘स्खलित’ हुँदै गएको एकीकृत समाजवादीको खुद्रा पसल चुनावपछि बन्द हुने विष्टले दावी गर्नुभयो ।
गुल्मीमा आफ्नो प्रतिष्पर्धी कोही नभएको उम्मेदवार विष्टले दावी समेत गर्नुभयो । आफ्ना प्रतिष्पर्धामा रहेकी रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उम्मेदवार विष्टले भन्नुभयो– ‘पर्यटन प्रवद्र्धन गर्न गाउँ डुले जस्तै गरेको देखेको छ । सांसद हुँदा १० हजार बजेट कही हालेको प्रमाण छैन । हामीले अगाडि बढाएका आयोजनालाई देखाएर चुनाव प्रचार गरिँदैछ । सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग तुलना हुँदैन । गुल्मीबासी सबै हेक्का राखेका छन ।’
एमालेको बहुमत देशको लागि आवश्यक रहेको भन्दै त्यहीँ अनुसार देशभर चुनावी माहोल बनेको विष्टले दावी समेत गर्नुभयो । गरिबी, बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनौट गर्न सचिव विष्टले मतदातालाई आग्रह गर्नुभयो ।
पूर्वमन्त्री विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने दावी गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)