बुटवल,कार्तिक १४ ।
नेकपा माओवादी केन्द्रले अनौपचारिक रूपमा सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दै आएका टुटल, पठाओ, इनड्राइभ लगायतलाई कानुनी मान्यता दिने घोषणा गरेको छ । माओवादीले आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०७९ मा यस्ता राइडिङ सेयर गर्ने सेवालाई औपचारिक दायरामा ल्याई नियमन र प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।
माओवादीले विद्युतीय सवारी साधनलाई प्रबर्द्धन गर्न विशेष सहुलियत र अनुदान प्रदान गर्ने, प्रदेशका प्रमुख राजमार्ग र सहरहरूमा विद्युतीय चार्जिङ स्टेसनहरूको निर्माण गरिने छ ।
काठमाडौं उपत्यकामा कम्तीमा ५०० वटा विद्युतीय बस सञ्चालन गर्ने व्यवस्था मिलाइउने र प्रदेश तथा पालिकाहरूबाट सबै प्रमुख सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्ने विषय पनि घोषणापत्रमा छन् ।
नेकपा माओवादी केन्द्रले काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना अगाडि सारेको छ । माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा काठमाडौं उपत्यकाको बागमती, विष्णुमति, धोवीखोला र मनोहरा कोरिडोरमा मेनोरेल सञ्चालनका लागि योजना बनाउने उल्लेख गरेको छ ।
काठमाडौंको चक्रपथ र बूढानीलकण्ठदेखि ललितपुरको सानेपा तथा थानकोटदेखि भक्तपुरको साँगासम्म मेट्रो रेल चलाउने योजना सुरु गर्ने योजना पनि अघि सारेको छ । रेलसँगै काठडमाडौं उपत्यकामा बिजुलीबाट चल्ने ५ सय वटा बस चलाउने योजना प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।
यसबाहेक पोखारा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य शहरमा मेट्रो तथा मनो रेल र ट्रली बस चलाउने योजना अघि सारेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)