बुटवल,असाेज २८ ।
बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरेर यो वर्षलाई रजत महोत्सव पर्वका रुपमा मनाउने भएको छ ।
आउने पुस २ लाई रजत महोत्सव मुल समारोहका रुपमा मनाउन लागेको ईन्द्रेणीले त्यसअघि विभिन्न सामाजिकसँगै रचनात्मक कार्यक्रम गरेर रजत वर्ष मनाउने भएको हो । सहकारीको शुक्रबार भएको संयुक्त बैठकले स्थापनाको २५ वर्ष पुरा भएको सहकारीले मुल समारोह अगाडि विभिन्न चरणवद्ध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
झण्डै दुई हजार दुई सयबढी सदस्य रहेको सहकारीले रजत महोत्सव कार्यक्रम अन्तरगत सहकारी शिक्षा कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, मनोरञ्जन तथा साँस्कृतीक कार्यक्रमसँगै सहकारीको स्मारिका प्रकाशन गर्ने भएको हो । सहकारीका अध्यक्ष धुर्व कुमार घितालले सहकारीले २५ वर्ष पुरा गरेको अवसरमा सहकारीलाई अझै ब्यवस्थित र सदस्यप्रिय बनाउनका लागि विभिन्न रचनात्मक कार्यक्र गरिने बताउनुभयो ।
उहाँले सहकारीले बहुउद्देश्य कार्यक्रम अन्तरगतका गतिविधिलाई अवलम्वन गर्दै प्रत्येक सदस्यलाई सहकारीका गतिविधिबारे जानकारी दिने उद्देश्यले मोवाईल बैंकीङ सेवा सुरु गरिएको समेत जानकारी दिनुभयो । उहाँले यो अवसरमा अन्य सहकारीहरुसँग एकिकरणको सिद्धान्तलाई पच्छाउदै सहकारीलाई गाभेर ठुलो सहकारीका रुपमा विकास गर्ने योजनाहरु पनि रहेको बताउनुभयो ।
कार्यक्रममा सहकारीका संरक्षक बाबुराम राना, भुपाल कुमार श्रेष्ठ, सल्लाहकार डम्बरदेव अर्याल, पुर्व अध्यक्ष शिवलाल राना, निर्वतमान अध्यक्ष मित्रबहादुर शाक्य, उपाध्यक्ष कृष्णप्रसाद अर्याल, लेखा संयोजक मोहनप्रसाद भण्डारी लगायतले सहकारीलाई अझै ब्यवस्थित र बहुउद्देश्य बनाउनेतर्फ सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सहकारीका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नरबहादुर श्रीसले ५९ करोड ४७ लाख ८१ हजारबढी कुलपुजी रहेको संस्थाले आ.व ७८-७९ मा दुई करोड मुनाफा आर्जन गरेको बताउनुभयो ।
निक्षेप ४१ करोड २० लाख २५ हजार रहेको सहकारीले आगामी आर्थिक वर्ष मुनाफा बढाएर दुई करोड ३० लाख पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)