गुल्मी,असाेज २९ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ निवासी रिमा घिमिरेको परिवारलाई समाजसेवी लिल बहादुर थापाले सहयोग गर्नुभएको छ । बाँकेको खजुरा गाउँपालिका वडा न. ४ डिगाउँ स्थायी घर भई हाल रोजगारीका शिलशिलामा सयुंक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवीले शुक्रबार अशक्त घिमिरेको घरमै पुगेर खाद्यान्न सामग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग हस्तान्तरण गर्नुभएको हो ।
रिमाकी १४ वर्षीय छोरी शारीरिक रुपमा पुर्ण अशक्त भएपछि उनलाई दैनिक जीवनयापन गर्न समेत कठिनाई भएको छ । बेसहारा घिमिरेको अवस्थाका बारेमा केही समय अगाडी जिटिभि नेपालमा भिडियो सामाग्री प्रशारण भएको थियो । समाजसेवी थापाले उहाँकै घरमै पुगेर २० हजार बराबरको सामाग्री सहयोग गर्नुभएको हो ।
घिमिरेको अवस्थाका बारेमा आफुले थाहा पाएपछि आफुलाई निकै दुःख लागेको र आफुले केही सहयोग वितरण गरेको समाजसेवी लिल बहादुर थापाले बताउनुभयो । सहयोग ग्रहण गर्दै घिमिरेले आफ्नो पीडा देखेर सहयोग गरेको भन्दै सहयोगी थापा प्रति आभार व्यक्त गर्नुभयो ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले राज्यको नजर पुग्न नसकेका भुँई मान्छे एवम् वास्तविक असहाय एवम् विपन्न परिवारलाई समाजेवी थापाले लामो समयदेखि सहयोग हस्तान्तरण गर्दै आउनुभएको भन्दै मानवीय कार्यको प्रशसां गर्नुभयो ।
साथै उहाँले समाजसेवी थापा जस्ता दानबीर एवम् निस्वार्थ समाजसेवा कर्ममा लागिरहेका व्यक्तिहरुलाई राज्यले कदर एवम् सम्मान व्यक्त गर्नुपर्ने समेत बताउनुभयो । वडाध्यक्ष घिमिरेले राज्यले गर्नुपर्ने दायित्व एउटा व्यक्तिले त्यो पनि परदेशमा निकै दुख गरेर कमाएको पैसालाई सामाजिक क्षेत्रमा लगाएको भन्दै अझै यस्तै धेरै सहयोग गर्न आग्रह गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी थापासगैं वडाध्यक्ष घिमिरे, वडा सदस्य दान बहादुर केसी, नेपाल पत्रकार महासघं गुल्मीका कोषाध्यक्ष कौरव खत्री, जिटिभि नेपाल अनलाईनका सञ्चालक दिपक नेपाली, जिटिभि नेपाल अनलाईनका सवांददाता सुरज नेपाली लगायत स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)