बुटवल,असोज ९।
आज पितृपक्षको अन्तिम दिन , पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ ।
असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ ।
पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् ।
पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ दिवङ्गत परिवारजन त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आज तीर्थस्थलमा श्राद्ध गर्न पुगेका हुन् ।
दशैँ, तिहार र छठजस्ता महान् चाडबाडअघि पितृहरूलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराका कर्मकाण्डका ज्ञाता बताउँछन् ।
हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक पृथ्वी झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)