बुटवल,असाेज ४ ।
तिलोत्तमा ५ स्थित न्यू इन्भाइरन्मण्ट अंग्रेजी माविले संविधान दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।
.न.पा ९ मङ्गलापुरस्थित रामजानकी मन्दिरको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रम विद्यालयका विभिन्न क्लबहरुको समन्वयमा भएको थियो । बाल समूह, युथ रेडक्रस सर्कल, इन्ट्रयाक्ट क्लबको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम दुई चरणमा प्रस्तुत भएको थियो । प्रथम चरणमा भानुभक्तीय रामायणको श्लोक वाचन प्रतियोगिता तथा दोस्रो चरणमा संविधान दिवसको सन्दर्भमा राष्ट्रिय भावनाले ओतप्रोत भएका कार्यक्रमहरु रहेका थिए ।
रामायण श्लोक वाचन प्रतियोगितामा प्रोत्साहन स्थानमा कक्षा–८ माछापुच्छे« र कक्षा ७ को अन्नपूर्ण समूह, तृतीय स्थानमा कक्षा ८ अन्नपूर्ण समूह, द्वितीय स्थानमा १० सगरमाथा समूह तथा प्रथम स्थानमा कक्षा ८ सगरमाथा समूह आउन सफल भएका थिए ।
तिलोत्तमा वडा नं.–५ का अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वन, प्रबन्ध निर्देशक श्री घनश्याम ज्ञवाली, प्राचार्य मधुप्रकाश ज्ञवाली, युथ रेडक्रस सर्कलका सभापति छात्र सङ्गम बस्याल, शिक्षक गौरव नेपालले संविधान दिवसको सन्दर्भमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विविध राष्ट्रभक्ति झल्कने सुन्दर सांस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा पी.टी प्रदर्शन, कराते प्रदर्शन लगायतका कार्यक्रम तथा प्रस्तुतिहरु रहेका थिए । इन्ट्रयाक्ट क्लबका अध्यक्ष छात्र मेमन सिंह पुनको अध्यक्षता, छात्रा रश्मी भण्डारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन छात्रा अनुष्का पन्थले गरेकी थिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)