बुटवल,असोज २ ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले मानव अधिकार प्रवद्र्धनको अभियानमा अभियान्तासंग आफूपनि सँगसँगै रहेको बताउनु भएको छ । उहाँले मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने बताउँदै यो मानवतावादी अभियानमा आफू पनि सँगसँगै रहेको बताउनु भएको हो ।
एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा कार्यक्रममा बोल्दै उहाँले मानवअधिकारको प्रवद्र्धनमा अभियान्ताको अगाडि आफू लागेर हिड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मावन अधिकारको रक्षा, प्रवद्र्धन र पैरवीका लागि यसले काम गर्दै आएको छ ।
एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारको क्षेत्रमा एम्नेस्टीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै यसका सुधार गर्नुपर्ने कुराहरु राख्नुभएको थियो ।त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा एम्नेस्टीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
एम्नेस्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष राजन कुइकेलले एम्नेस्टी नेपालले नेपालमा द्वन्द्वकालिन समयमा ससक्त काम गरेको बताउँदै मावन अधिकार रक्षाका लागि राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय दवाव सिर्जना हुने जानकारी गराउनु भयो ।एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकारको सवालमा विश्वव्यापी रुपमा भईरहेको परिवर्तनले मानव अधिकारमा पार्ने प्रभाव र एम्नेस्टीले खेल्ने भूमिकाका बारेमाले भनाई राख्नुभएको थियो ।
कार्यक्रममा एम्नेस्टी नेपालकी रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्य, एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, बोर्ड सदस्य देवेन्द्र सेजुवाल लगायतले मानव अधिकार र एम्नेस्टीले गर्ने कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।एक दिनको यो कार्यक्रममा लुम्बिनी, कर्णाली, सुदुरपश्चिम, गण्डकी र बागमती प्रदेशका समुहका संयोजक तथा प्रतिनीधि गरी ६० जनाको सहभागिता रहेको एम्नेस्टी इन्टरनेशनल नेपाल आमसञ्चार र मानवअधिकार समितिका सदस्य कबिन्द्र नेपालले जानकारी गराउनु भयो ।
बुटवलमा आएका एम्नेस्टी अभियान्तालाई एम्नेस्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवल र निर्माणाधिन बुटवल महिला समुहले स्वागत गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)