गुल्मी, भदौ २९ ।
गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेपनि भौगोलिक रुपमा विकट रहेको रेसुंगा नगरपालिका १४ मा वडा सेवा कार्यालय स्थापना गरिएको छ ।
बत्ती मुनीको अध्यारो भने जस्तै उक्त वडामा भौगोलिक बिकटटाका कारण सेवाग्राहीहरु सामान्य कामका लागि पनि घण्टौ समय खर्चेर वडा कार्यालयमा पुग्नु पर्ने बाध्यता थियो ।
रेसुंगा नगरपालिकाले उक्त वडाका सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै वडाको सेवा कार्यालय पराल्मीको रातामाटामा स्थापना गरेपछि स्थानीयहरुमा थप उत्साह थपिएको हो । साविकको पराल्मी गाविस भनेर परिचित उक्त वडा भौगोलिक दृष्टिकोणले दुई खण्डमा बिभाजित छ ।
वडाको वडा कार्यालय हाल पराल्मीको डाँडापोखरी भन्ने ठाउँमा रहेको छ । एउटा सामान्य सिफारिस लिनका लागि पनि दुई घण्टा भन्दा बढी समय पैदल हिडेर वडा कार्यालयमा पुग्नु पर्ने त्यस भेगका जनताहरुको समस्यालाई मध्यनजर गर्दै सरल र सुलभ सेवा प्रवाह गर्ने उद्देश्यले उक्त ठाउँमा वडाको सेवा कार्यालय स्थापना गरिएको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनु भयो ।
वडाको सेवा कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख खिलध्वज पन्थीले सेवा कार्यालय स्थापना भएपछि सेवाग्राहीहरुलाई घण्टौंं लगाएर सामान्य सेवा लिनका लागि पनि वडा कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो । साविक पराल्मी गाविस ७ अन्र्तगत कालिका मन्दिरको भवनमा सेवा कार्यालय स्थापना गरिएको हो ।
नगरप्रमुख पन्थीले सेवा कार्यालयबाट भरपुर सेवा लिन सेवाग्राहीलाई आग्रह समेत गर्नु भएको छ । उहाँले वडा तथा सेवा कार्यालयबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुलाई सरल, सहज र चुस्त दुरुस्त राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ । नगर प्रमुख पन्थीले निर्वाचन सम्पन्न भएको छोटो समयमै नगरमा धेरै विकास निर्माणका कामले गति लिदैं गएको बताउनु भयो । 
रेसुंगा नगरपालिकाले गरीब, विपन्न, असाहय नागरिकहरुका लागि मोति विन्दुको निःशुल्क शल्यक्रिया, एसईई परीक्षामा ३.२ जिपिए ल्याउने विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि मासिक चार हजार रुपैंयाका दरले छात्रवृत्तिको व्यवस्था, कृषकहरुको सहजताका लागि पशुमा कृत्रिम गर्भाधान प्रक्रियाको सम्झौता, सडक बालबालिकाहरुलाई शिक्षासँग पहुँच लगायतका महत्वपूर्ण कामहरुलाई अगाडी बढाएको नगर प्रमुख पन्थीले जानकारी दिनु भएको छ ।
वडा अध्यक्ष धनबहादुर पुनका अनुसार सातामा दुई दिन सेवा कार्यालयबाट वडा कार्यालयले प्रवाह गर्ने सम्पूर्ण सेवाहरु प्रवाह गरिने बताईएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)