बुटवल, भदौ २७।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले मुलुक र संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन गरिएको बताएका छन् ।
सोमबार नेपाल महिला संघले लुम्बिनी प्रदेशभित्रका महिला संघका जिल्ला समितिका पदाधिकारी तथा सदस्यका लागि बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले देश बचाउनका लागि गठबन्धन गरिएको बताएका हुन् ।
कम्युनिस्टहरूलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउनका लागि गठबन्धन गरिएको बताउँदै उनले भने, ‘यो गठबन्धन कुनै दल विशेषलाई बचाउन र जोगाउनका लागि गरिएको होइन, देश दुर्घटनामा जान लागेपछि गरिएको हो । त्यसैले यसलाई सबैले स्वीकार्दै गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ ’
उनले आम निर्वाचन तथा स्थानीय निर्वाचनमा समेत महिलाहरूलाई कांग्रेसले प्राथमिकताका साथ टिकट दिएको बताउँदै उनले पाएको अवसरलाई सही सदुपयोग गरी निर्वाचन जित्न आग्रहसमेत गरे । उनले भने, ‘नेपाली कांग्रेसले महिलाहरूको सहभागितामा निकै सकारात्मक कदमहरू चाल्ने गरेको छ । टिकट पाउनेभन्दा पनि चुनाव जित्ने र जिताउने काममा महिला संघ र महिलाहरू विशेष जागरूकताका साथ लाग्नुहोस् ।’
प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा महिला संघकी पूर्व अध्यक्ष ईश्वरी न्यौपानेले पार्टीको निर्णायक तहमा महिला नहुँदा समस्या आएको बताउँदै अब महिलाहरूलाई निणार्यक तहमा पुर्याउन आवश्यक रहेकोमा जोड दिइन् । यसअघि महिलाहरूलाई समानुपातिकमा मात्रै प्रयोग गरिएकोमा योपटक धेरै महिलालाई प्रत्यक्षमा र समानुपातिकमा पुरुषलाई अवसर दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रुपा बिक, गंगा शाही,पार्टीका लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरि,महिला संघ केन्द्र सदस्य उषा राउत मिश्र, नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री,पत्रकार अनिता बिन्दुलगायतले महिलालाई टिकट वितरणमा प्राथमिकतामा राख्न आग्रह गरेका थिए । उनीहरूले महिला सिफारिस भएको क्षेत्रमा महिलाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनमा सिट मिलाउन आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)