बुटवल भदौ २६ ।
बुटवलको नयां बसपार्क नजिकैको होटेल अल्फा इन प्रालिका घरधनीले तिर्नै नसक्ने गरी मनोमानी भाडाबृद्धि गरेर व्यवसायी दिनेश कार्कीमाथि अन्याय गरेका छन् । घरधनीले ब्यवसायी कार्कीलाई सडकमा पुर्याएका हुन् ।
जसरका कारण आज मालिकको घरमा तालाबन्दी गरिएको छ । सम्झौताको ४ वर्ष बांकी छंदै घरधनीले हरेक वर्ष ५ प्रतिशतका दरले घर भाडा बढाउने सहमति विपरित एकैपटक १३० प्रतिशतले बढाएपछि कार्कीले न्यायको लागि होटेलमा विभिन्न संघसंस्थाको रोहबरमा तालाबन्दी गरेका छन् ।
घर बहाल सरोकारवाला संघ रुपन्देही अध्यक्ष राजु लिगलले घरभाडा सम्बन्धमा विवाद भएपछि इलाका प्रहरी कार्यालयमा सहमति गरेर जाने सहमति विपरित घरधनीका आफन्तले गुण्डागर्दी शैलीमा व्यवसायीलाई विस्थापित गरी दोस्रो व्यक्तिलाई होटेल विक्रि गरेको बताउनुभयो ।
कोरोना महामारीले थला परेको व्यवसायमाथि घरधनीले ज्यादती गरेको भन्दै सबै घरधनीले १५ प्रतिशत भाडा घटाउनुपर्ने माग गर्नुभयो । होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले घरधनीको ज्यादतीले बुटवलमा दर्जनौ व्यवसायी असुरक्षित भएको बताउनुभयो ।
कोभिडको माहामारीले थला पारेको होटेल तथा रेष्टुरेन्ट व्यवसायमा घर धनीको चरम लाहप्रवाहीका कारण रुपन्देहीका पर्यटन व्यवसायी पेशा नै छाडेर ताला चापी घर धनीलाई बुझाउन पर्ने बाध्यतामा पुगेको होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो ।
बुटवलमा मनपरी घर भाडा बृद्धिको समस्या जटिल बन्दै गएकोभन्दै स्थानिय सरकारले घर बहालको मुल्य निर्धारण गर्न माग गर्नु भयोे । होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका पुर्व अध्यक्ष समुन्द्र जीसीले सम्झौता अवधि र ८ लाख रुपैयां पेश्की रकम बांकी छंदै व्यवसायीलाई विस्थापित गर्ने उद्देश्यले चर्को भाडा बृद्धि गरेर व्यवसायीलाई अन्याय गर्ने घर धनीलाई कानुनी कठघरामा ल्याउन माग गर्नुभयोे ।
घरधनीहरुले मनोमानी भाडा बढाउने परिपाटीले महंगी बढ्ने, व्यवसायी विस्थापित हुने मात्र होइन, आत्महत्यासम्मका घटना भएकाले स्थानीय, प्रदेश र संघीय सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति र ऐन बनाउनजरुरी रहेको उनिहरुको माग छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)