बुटवल,भदौ ६ ।
बुटवलकी एक ‘मृतक’ महिलालाई ‘जीवित’ बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् ।
बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाइ पक्राउ गरेको छ ।
गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेर भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।
सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताउनुभयो । यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो भनिएको जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा चर्चका पास्टर राजेन्द्र गोतामेले भुइँमा सुतेकी महिलालाइ सन्चो बनाएको र पछि उठेर सरासर हिँडेर नमस्कार गरेको देखिएको छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख केसीको भनाइ छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)