बुटवल,साउन ११ ।
राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। बुटवलमा आयोजित विरोध सभालाई राजमो रुपन्देही अध्यक्ष तथा केन्द्रीय सल्लाहकार बद्रे आलमले सम्बोधन गर्दै वास्तविक नागरिकलाई नागरिकता दिनु पर्छ तर विदेशबाट आएका बुहारीहरुलाई तत्काल नागरिकता दिन हुँदैन भने।
उनले प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक खारेज गरिएन भने वास्तविक नागरिक अल्पमतमा पर्ने दोहोर्याए।यसअघि पोखरामा भएको कोणसभालाई महासचिव मनोज भट्टले २०५६ सालमा प्रतिनिधि सभाले पास गरेको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले फिर्ता गरिदिएको स्मरण गर्दै अहिले पनि राष्ट्रिय सभाबाट फिर्ता हुने अपेक्षा गरे।
विवादित नागरिकता विधेयक प्रतिनिधि सभाले पारित गरेर अहिले राष्ट्रिय सभामा छलफलका क्रममा रहेको छ।राजमोले बुटवल, दाङ, अर्घाखाँची, पोखरा, नवलपरासी लगायतका स्थानमा विरोध प्रदर्शन तथा कोणसभा गरेको हो।
अर्घाखाँचीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले नागरिकता विधेयक नेपालीको लागि नभइ भारतको आवश्यकताका आधारमा आएको दाबी गरे। यसले नेपालीलाई छिट्टै देशभित्र अल्पमतमा पुर्याउने उनले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)